एफएनसीसीआई निर्वाचन : को हुन् एसोसिएट उपाध्यक्षका आकांक्षी प्रबलजंग पाण्डे ?

काठमाडौं । आगामी चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को साधारणसभा तथा निर्वाचनमा उद्योगी प्रबलजंग पाण्डेले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महासंघको नेतृत्व चयनमा लामो समयदेखि विभिन्न टिमलाई रणनीतिक सहयोग गर्दै आएका पाण्डे यस पटक आफैँ निर्वाचन मैदानमा उत्रिने भएका हुन् ।

अघिल्लो निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको प्यानलबाट पाण्डेले एसोसियट उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । तर अन्त्यमा अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल टिमका भरत आचार्यलाई समर्थन गर्दे उनले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

सो बेला पाण्डेले भरत आचार्य र आफू एक अर्का सारथिको रूपमा लामो समय देखि काम गर्दै आएको कारण चुनावमा एक अर्का विरुद्ध उम्मेदवारी दिन नसकेको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

तर, यस पटक भने महासंघभित्रको आफ्नो अनुभव र नेटवर्कलाई नेतृत्व तहमा उपयोग गर्ने उद्देश्यसहित उनी प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन लागेका छन् । पाण्डे महासंघमा तीन कार्यकाल कार्यकारिणी सदस्य भइसकेका छन् ।

लामो समय महासंघको गतिविधि, संरचना र चुनावी रणनीतिमा नजिकबाट काम गरिसकेकाले यस पटक उनी अझ जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यसहित उम्मेदवारी दिने तयारीमा छन् ।

को हुन् प्रबलजंग पाण्डे ?

इस्टर्न कसमस सिमेन्टका कार्यकारी निर्देशकसमेत रहेका पाण्डे स्पष्ट र स्वच्छन्द विचारका कारण व्यावसायिक वृत्तमा लोकप्रिय छन् । फर्चुना इन्भेष्टमेन्ट प्रालिका पनि निर्देशक रहेका पाण्डेले भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका छन् । उनी व्यावसायिक घराना लोमश ग्रुपका पनि निर्देशक हुन् ।

साथै, उनी नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । यस कारण पनि उनले सानैबाट महासंघको गतिविधि, राजनीति र उद्योगी व्यवसायीको नेटवर्कलाई नजिकबाट नियाल्ने मौका पाए ।

व्यापार व्यवसायमा लाग्नुअघि उनी नेपाल टेलिकममा इन्जिनियरका रूपमा काम गर्थे । सन् २०१० सम्म टेलिकममा कार्यरत उनले त्यसपछि पारिवारिक व्यवसायलाई विस्तार र व्यवस्थापन गर्ने उद्देश्यले निजी क्षेत्रमा प्रवेश गरेका थिए ।

पछिल्लो १६ वर्षदेखि उनले सिमेन्ट तथा औषधी उद्योगसमेत सम्हाल्दै लोमश ग्रुपका विभिन्न व्यावसायिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनी सिटिजन्स इन्टरनेसनल बैंकका अध्यक्ष पनि हुन् ।

उनले महासंघभित्रको महत्त्वपूर्ण संरचना नेपाल रोजगारदाता परिसंघको सह–सभापतिको रूपमा समेत उनले काम गरिसकेका छन् । यस पटक एसोसिएट क्षेत्रलाई केन्द्रमा राखेर उनले पर्यटन, उद्योग, ट्रेडिङ, स्टक मार्केट, ज्वेलरी तथा जलविद्युत क्षेत्रमा सक्रिय उद्यमीहरूलाई समेट्दै सन्तुलित र रणनीतिक टिम निर्माण गर्ने उद्देश्यसहित उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =