महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रतिनिधि सभा सदस्य महाविर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा पोखरामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा–१३ बाँझापाटनका विकास गुरुङ रहेका छन् । पुनले आफ्नो आत्मकथा ‘महाविर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गरिरहेका बेला गत सोमबार गुरुङले अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा गुरुङले पुनप्रति अभद्र व्यवहार गर्नुका साथै अपशब्द प्रयोग गरेको देखिएकाले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि तीन पटक लागुऔषधसम्बन्धी मुद्दामा सजाय पाएको अभिलेख पनि भेटिएको छ ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पुन केही दिनयता पोखराका विभिन्न चोकमा आफ्नै आत्मकथा बिक्री गर्दै आएका छन् ।
उनले पुस्तक बिक्रीबाट प्राप्त रकम वीरगञ्ज कृषिऔजार कारखाना सञ्चालनका लागि खर्च गर्ने बताएका छन् ।









