गगन थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने मनस्थिति बनाएका नेपाली कांग्रेसका सभापति गगन थापालाई ललितपुरका जनप्रतिनिधिहरूले पद नत्याग्न आग्रह गरेका छन् । सोमबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका स्थानीय तहमा निर्वाचित कांग्रेसका जनप्रतिनिधिहरूले वर्तमान राजनीतिक संकटका बीच थापाको नेतृत्व अपरिहार्य रहेको भन्दै ऐक्यबद्धता जनाएका हुन् ।

विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहासलाई जोगाउन, लोकतन्त्रको रक्षा गर्न र समसामयिक राजनीतिक चुनौतीहरूको सामना गर्न थापाकै अभिभावकत्व आवश्यक रहेको उल्लेख गरिएको छ । “वर्तमान जटिल परिस्थितिमा पार्टीलाई नयाँ उर्जा र सही दिशा दिन गगन थापा नै एक मात्र योग्य व्यक्तित्व हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, विभिन्न नगरका उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू रहेका छन् । उनीहरूले पछिल्लो समय चर्चामा आएको राजीनामाको विषयलाई पूर्णतः अस्वीकार गर्दै पार्टीको आन्तरिक सुदृढीकरणका लागि नेतृत्वको निरन्तरतामा जोड दिएका छन् ।

भर्खरै सम्पन्न निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भएका थिए । प्रत्यक्षतर्फ १८ सिटमा मात्र खुम्चिएको कांग्रेसभित्र यतिबेला नेतृत्वको विषयलाई लिएर दुई धार देखिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनावी हारको जिम्मेवारी लिँदै थापाले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =