आवेग त्यागेर पार्टी एकतामा जोड दिऔं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक तित्तता र व्यक्तिगत महत्त्वाकांक्षा त्यागेर वृहत्तर एकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर आत्मबोध गराएको उल्लेख गर्दै उनले अबको बाटो एकताकै हुनुपर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले निर्वाचनको नतिजालाई ‘भगवानरुपी मतदाताको सन्देश’ का रूपमा लिनुपर्ने बताएका छन् । उनले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूलाई विगतको निर्मम समीक्षा गर्दै ‘म म’ भन्दै आत्मचिन्तन गर्न समेत आग्रह गरेका छन् । ‘निर्वाचनको परिणामले हामीलाई गम्भीर सन्देश दिएको छ । अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम र जिम्मेवार बन्नु पर्ने समय आएको छ,’ खड्काले लेखेका छन्, ‘अस्वाभाविक महत्त्वाकांक्षा र आग्रहबाट माथि उठेर पार्टीको बृहत् एकताका लागि निष्ठापूर्वक अगाडि बढ्नु नै हाम्रो नैतिक कर्तव्य र जिम्मेवारी हो ।’
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिटमा मात्र जित हासिल गरेको थियो । विशेष महाधिवेशन सम्पन्न भएको ५० दिनमै चुनावमा होमिनु परेको पृष्ठभूमिमा यो नतिजा आएको हो । स्मरणीय छ, विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको थियो, जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । तर, उक्त निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र नेता खड्का स्वयं सर्वोच्च अदालत पुगेका थिए । यस्तो आन्तरिक खिचातानीकै बीचमा चुनाव सम्पन्न भएको थियो ।









