किताब बेच्न पोखरामा नवनिर्वाचित सांसद महावीर पुन

म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका हुन् ।
/एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो,’ उनले भने, ‘बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।’ पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।
अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर पुन जन्मथलो म्याग्दीमा चुनाव लड्न आएका थिए । उनले जेनजी आन्दोलन अघि पनि देशका विभिन्न ठाउँ पुगेर किताब बेच्ने गर्दै आएका थिए । गत भदौको २३ र २४ जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारमा उन करिब चार महिना शिक्षामन्त्री बने । स्वतन्त्र उम्मेदवार पुनले लोकप्रिय मतका साथ म्याग्दीमा चुनाव जितेलगत्तै समर्थकलाई विजय उत्सव मनाउने नाममा तडकभडक नगर्न अनुरोध गर्दै आफ्नै पुरानो दिनचर्यामा फर्किएका हुन् ।
पुन २२ हजार ८५० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाए । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ६७६ मत पाए । निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक गरिनसकेको र फुर्सदको समय सदुपयोगका लागि पुस्तक बिक्री गर्न निस्किएको पुनले बताए ।









