पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन

एजेन्सी । वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) रक्षा प्रणालीले खसालेको अङ्काराले सोमबार बताएको छ ।

नेटोले पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा प्रहार गरेको यो दोस्रो क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ । घटनापछि नेटोले ‘कुनै पनि खतराको बिरूद्ध सबै सहयोगीहरूको रक्षा गर्न’ तयार रहेको बताएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमण सुरु भएयता इरानले त्यसको बदलामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणबाट अहिलेसम्म टर्कीए बचेको जस्तो देखिन्छ । अमेरिकी सेनाहरू टर्कीएका धेरै आधार शिविरहरूमा तैनाथ छन् । इरानले टर्कीएको दक्षिणी शहर अदानाको बाहिर क्षेत्रमा इन्सर्लिक आधार शिविरलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।

सोमबार टर्कीएस्थित अमेरिकी दूतावासले अदानामा रहेको वाणिज्य दूतावास बन्द गरेको र अत्यावश्यक बाहेकका कर्मचारीलाई त्यहाँबाट बाहिर जान सल्लाह दिएको छ ।

“सन् २०२६ मार्च ९ मा विदेश मन्त्रालयले गैर–आकस्मिक अमेरिकी सरकारी कर्मचारी र अमेरिकी सरकारी कर्मचारीका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमको कारण वाणिज्य दूतावास छोड्न आदेश दिएको छ,” दूतावासले एक्समा जारी सन्देशमा भनिएको छ ।

यसले विदेश मन्त्रालयको यात्रा सुझाबलाई उद्धृत गर्दै भनेको छ, “दक्षिणपूर्वी टर्कीबाट अमेरिकीहरूलाई अब प्रस्थान गर्न कडा रूपमा निर्देशित गरिएको छ ।”

त्यसको एक घण्टापछि इरानबाट प्रहार गरिएको अर्को ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा छेदन गरेको र यो घटना नेटो रक्षा प्रणालीले पाँच दिनमा गरेको दोस्रो भएको पुष्टि टर्कीएको रक्षा मन्त्रालयले गरेको थियो ।

“इरानबाट प्रक्षेपण गरिएको र टर्कीको हवाई क्षेत्रमा प्रवेश गरेको ब्यालिस्टिक गोलाबारुद पूर्वी भूमध्यसागरमा नेटोको हवाई र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्प्रभावी बनाएकोे छ,” पश्चिमा सैन्य गठबन्धन नेटोले पनि पुष्टि गरेको छ ।

“नेटोले फेरि टकीर्एतर्फ जाँदै गरेको मिसाइललाई रोकेको छ । नेटो कुनै पनि खतराको बिरूद्ध सबै सहयोगीहरूको रक्षा गर्न आफ्नो तत्परतामा दृढ छ,” प्रवक्ता एलिसन हार्टले एक्समा भने ।

इन्सर्लिक एयर बेस एक महत्त्वपूर्ण नेटो सुविधा हो जुन दशकौंदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ र यो अदानाबाट केवल १० किलोमिटर टाढा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =