समानुपातिकमा राप्रपालाई श्रम संस्कृति पार्टीले उछिन्यो

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना ८२ लाख, ५६ हजार नाघ्दा राजनीतिक वृत्तमा रोचक र अनपेक्षित दृश्य देखा परेको छ । भर्खरै उदाएको नयाँ दल ‘श्रम संस्कृति पार्टी’ले अघिल्लो संसद्‌को राष्ट्रिय दलसमेत रहेको पारम्परिक शक्ति ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)’ लाई पछि पारेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार, उदीयमान श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ६०९ मत प्राप्त गर्दै पाँचौँ स्थान ओगट्न सफल भएको छ । उता, राप्रपा भने २ लाख ७४ हजार ६१३ मतमा सीमित हुँदै छैटौँ स्थानमा झरेको छ।  परम्परागत राजनीतिक शक्तिहरूलाई नयाँ दलहरूले कडा चुनौती दिइरहेको सन्देश यो नतिजाले स्पष्ट पारेको छ ।

मुलुकभरको समग्र मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर कायमै देखिएको छ । रास्वपाले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै तेब्बर बढी अर्थात् ३९ लाख ८४ हजार १०६ मतसहित पहिलो स्थानमा बलियो पकड बनाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेस रास्वपाभन्दा निकै पछाडि छ; काँग्रेसले हालसम्म १३ लाख ४१ हजार ४८४ मत प्राप्त गरेको छ । त्यसैगरी, तेस्रो स्थानमा खुम्चिएको नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) ले ११ लाख ३८ हजार ०५४ मत बटुलेको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ८४ हजार २३३ मतका साथ आफूलाई चौथो शक्तिका रूपमा उभ्याएको छ ।

आयोगको पछिल्लो मतपरिणाम सूचीअनुसार जनता समाजवादी पार्टी (जसपा), नेपालले १ लाख २३ हजार १२१ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख १७ हजार २३४ मत ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =