ध्रुवराज राईः स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

टक्सार । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका धु्रवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित भएका छन् ।

नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बनेका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । त्रिचालिस वर्षीय राई २०६२/६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिएका थिए ।

विसं २०७४ को स्थानीय निर्वाचनमा राई कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बनेका थिए । सोही समय उनले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु¥याउँदै गाउँ नै झिलीमिली बनाएका थिए स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई कांग्रेसका सरोज बस्नेतसँग पराजित भए ।

राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गरेका थिए । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य थिए ।

एमाले छाडेका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गरेका थिए । उनले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =