नवलपरासी-१ मा रास्वपाको सानदार जित : उद्योगपति विनोद चौधरीलाई हराउँदै विक्रम खनाल निर्वाचित

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रभावशाली जित दर्ता गरेको छ । रास्वपाका उम्मेदवार विक्रम खनालले नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार तथा प्रख्यात उद्योगपति विनोद चौधरीलाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा पक्का गरेका हुन् ।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार, खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गरी विजयी झण्डा गाडेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चौधरीले मात्र ९ हजार ५ सय २ मत प्राप्त गरे । खनालले चौधरीलाई ३५ हजार ७ सय ३९ को विशाल मतान्तरले पछाडि पारेका हुन् ।

यो निर्वाचनमा अन्य स्थापित दल र नेताहरूको अवस्था पनि निकै कमजोर देखिएको छ । नेकपा एमालेका रामप्रसाद पाण्डेय ७ हजार ९ सय ५६ मतमा खुम्चिएका छन् भने जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत मात्र प्राप्त गरे । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नवनित कुमार मिश्रको पक्षमा १ हजार ५ सय ९३ मत खस्यो ।

अर्बपति चौधरी र दशकौँदेखि सो क्षेत्रको राजनीतिमा दबदबा राख्दै आएका त्रिपाठी जस्ता दिग्गजलाई पछि पार्दै युवा उम्मेदवार खनालले निकालेको यो जितलाई नवलपरासीको चुनावी इतिहासमा एउटा ठूलो राजनीतिक उलटफेरको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =