मोरङ-३ मा सुनिल शर्मालाई पछार्दै गणेश कार्की विजयी

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहजनक जित हासिल गरेको छ । रास्वपाका उम्मेदवार गणेश कार्कीले नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सुनिल शर्मालाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन् ।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार , कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गरी विजयी झण्डा गाडेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शर्माले २४ हजार ३ सय ५४ मत मात्र प्राप्त गरे । कार्कीले शर्मालाई १२ हजार ५ सय ७० को फराकिलो मतान्तरले पछि पारेका हुन् ।
यस क्षेत्रमा तेस्रो स्थानका लागि श्रम संस्कृति पार्टीले कडा प्रतिस्पर्धा देखाएको छ । सो पार्टीका उम्मेदवार अमिर मगर १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थानमा रहे ।
स्थापित राजनीतिक शक्ति र पुराना अनुहारलाई चुनौती दिँदै रास्वपाका कार्कीले निकालेको जितलाई मोरङको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ । मतदाताले परिवर्तनको पक्षमा उभिएर नयाँ शक्तिलाई विश्वास गरेको कार्कीको जितले पुष्टि गरेको छ ।








