प्रधानमन्त्री र मन्त्री बन्न मात्रै राजनीति गर्न आएका होइनौँः डीपी अर्याल

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद (डीपी) अर्यालले आफ्नो प्रतिस्पर्धा कुशासन र भ्रष्टाचारसँग हुने बताएका छन् । निर्वाचन कार्यालयबाट विजयको प्रमाणपत्र लिएपछि मतदातालाई सम्बोधन गर्दै उनले अब मुलुक समृद्धितर्फ अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

“यो जित यस क्षेत्रका सबै मतदाताको हो । म सम्पूर्ण मतदाता र मेरा प्रतिस्पर्धी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु । हामी यो चुनावी यात्रामा सँगसँगै हिँड्यौँ । उहाँहरू मेरा सहयात्री हुनुहुन्छ। मेरो प्रतिस्पर्धा भनेको भ्रष्टाचारीसँग मात्रै हो,” उनले भने ।

अर्यालले यो निर्वाचन हालसम्मकै विशेष निर्वाचन भएको पनि बताए । “यसअघि पनि यस्तो निर्वाचन भएको थिएन, आगामी दिनमा पनि हुने छैन । जनताले मुलुकमा सुशासन चाहेका छन्, जुन आफ्नो मतमार्फत प्रमाणित पनि गरेका छन्,” उनले भने ।

“हामी केवल राजनीति गर्न आएका होइनौँ । प्रधानमन्त्री, मन्त्री र नेता मात्रै बन्न पनि आएका होइनौँ । हामी मुलुकलाई समृद्ध, सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउन आएका हौँ,” उनले भने ।

अर्यालले काठमाडौँ क्षेत्र नम्बर ९ मा जनताले अनुभूति गर्ने गरी न्यायपूर्ण काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । “गोर्खालीले हार्न जान्दैन । म पनि हार्न नजान्ने गोर्खाली हुँ । हाम्रो जित भनेकै भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापना हो,” उनले भने ।

३५ हजार ९३ मत ल्याएर अर्याल काठमाडौँ–९ बाट निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याएकी छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा ठूलो मतान्तरले विजयी हुने उम्मेदवार पनि अर्याल नै बनेका छन् । उनी २९ हजार ६३३ मतान्तरले विजयी भएका हुन् ।

उनले निर्वाचन सम्पन्न गराउन खटिएका निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिँदै समानुपातिक मत गणनामा पनि सहकार्य गर्न सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =