जनमतको सम्मान गर्दै प्रदीप ज्ञवालीले भने- ‘यस्तो परिणामको अपेक्षा थिएन’

काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले गुल्मी क्षेत्र नम्बर १ को निर्वाचन परिणामलाई लिएर आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा उनले प्राप्त नतिजालाई जनमतको सर्वोच्चताका रूपमा स्वीकार गर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै नेता ज्ञवालीले निर्वाचनको अन्तिम नतिजा आफूले सोचेभन्दा फरक आएको स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘गुल्मी-१ को मतगणना उत्तरार्धतिर पुग्दैछ । निर्वाचनमा यस्तो परिणामको अपेक्षा त गरिएको थिएन, तर लोकतन्त्रमा जनताको फैसला नै सर्वोपरि हुन्छ । त्यसैले म यो जनादेशप्रति पूर्ण सम्मान व्यक्त गर्दछु ।’

मतगणनाको प्रारम्भिक रुझानअनुसार विजयोन्मुख देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाललाई नेता ज्ञवालीले अग्रिम बधाई समेत दिएका छन् । उनले लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा सम्पूर्ण कर्मचारी प्रशासनप्रति आभार प्रकट गरेका छन् ।

निर्वाचनको दौरान अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दै ज्ञवालीले पराजयबाट विचलित नहुन आग्रह गरेका छन् । चुनावी नतिजा जस्तो आए पनि आफू सधैं गुल्मीवासीको सुखदुःखमा सारथि बन्ने उनको भनाइ छ । ज्ञवालीले अगाडि भनेका छन्, ‘यी अप्ठ्यारा दिनहरू पनि बितेर जानेछन् । म सधैं जिल्लाको विकास र जिल्लावासीहरूको सेवामा समर्पित रहनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =