म्याग्दीमा डा. महावीर पुन भारी मतान्तरले विजयी

काठमाडौं । म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै पुनले संसदको यात्रा सुनिश्चित गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार पुन २२ हजार ८५० मतका साथ विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । निर्वाचित पुन र श्रेष्ठबीचको मतान्तर १४ हजार ९३१ रहेको छ । मतगणनाको कार्य सम्पन्न भइसकेको र अब औपचारिक घोषणा हुन मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा अन्य उम्मेदवारहरूमध्ये नेपाली काँग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाको पक्षमा ३ हजार ५२९ मत खसेको छ । म्याग्दीमा कुल ८६ हजार ३९७ मतदाता रहेकोमा यसपटक ४६ हजार २१५ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए । आफ्नो जन्मभूमिबाटै राजनीतिक यात्रा सुरु गर्न आएका डा. पुन पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत हुन् ।








