कैलाली–३ मा नेकपाका वीरमानको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा कैलाली क्षेत्र नं ३ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीले अग्रता कायमै राखेका छन् ।
मतगणनाको सुरुआतदेखि नै उनले अन्य प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अग्रता कायम गरेका हुन् ।
कैलाली क्षेत्र नं ३ निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका वडा नं २, ३ र ९ को मतगणना सम्पन्न भएको छ । ती वडाको कुल छ हजार १९३ मतगणनामा नेकपाका उम्मेदवार वीरबहादुर चौधरीले एक हजार ८१५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत जोशी एक हजार ४१० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार विक्रम चौधरीले ९८१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले ६९० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीले ६३५ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार वीरेन्द्र बमले २८९ मत प्राप्त गरेका छन् । हालसम्म ३३३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले भजनी नगरपालिकाको वडा नं ७ र ५ को मतगणना भइरहेको छ ।
कैलाली क्षेत्र नं ३ मा कुल एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो । मतगणना क्रमशः अन्य स्थानीय तहका मतपेटिका खोलेर अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ ।









