विजयी भएपछि रञ्जुको प्रतिक्रिया- ‘यो मेरो मात्र होइन, सिंगो देशको जित हो’

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । जारी आमनिर्वाचनको मतगणनामा आधिकारिक रूपमा विजयी घोषित हुने उनी देशभरिकै पहिलो उम्मेदवार समेत बनेकी छन् ।
भारी मतान्तरले जित हासिल गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सबै मतदाताप्रति आभार प्रकट गरेकी छन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि देश र परिवर्तनको जितका रूपमा चित्रण गरेकी छन् । उनले लेखेकी छन्, ‘यो विजय देशको र परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
रञ्जुका लागि यो राजनीतिक सफलता विशेष संयोगका रूपमा आएको छ । उनी आमा बनेको आज ११ दिन पुगेको छ । एकातिर संसद् यात्राको निश्चितता र अर्कोतिर सन्तान लाभको खुसीले उनको परिवारमा उत्साह छाएको छ ।
आजै उनले आफ्नो छोराको न्वारन पनि गरिरहेकी छन् । घरमा न्वारनको कार्य सम्पन्न गरेपछि उनी बानेश्वरस्थित सहकारी विभागमा आयोजना हुने विजयोत्सवमा सहभागी हुने उनले बताइन् । रास्वपाको तर्फबाट देशभरिमै पहिलो खाता खोल्दै उनले नयाँ पुस्ताको राजनीतिक आगमनलाई सशक्त ढंगले पुष्टि गरेकी छन् ।








