निर्वाचनपछि डा.सुनिल शर्मा भन्छन्: लोकतन्त्रमा विश्वास राखेर मतदान गर्ने सबैलाई धन्यवाद !

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि मोरङ क्षेत्र नम्बर–३ का उम्मेदवार डा. सुनिल कुमार शर्माले सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन् ।
निर्वाचनको अवसरमा सचेत, जिम्मेवार तथा लोकतन्त्रप्रेमी मतदाताहरूले उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेकोमा उनले आभार व्यक्त गरेका हुन् । देशको अवस्था नाजुक र जटिल रहे पनि लोकतान्त्रिक प्रक्रियाप्रति आस्था राख्दै मतदानमा सहभागी हुनु लोकतन्त्रप्रतिको जनताको दृढ विश्वासको प्रतीक भएको उनको भनाइ छ ।
उनले देशको जटिल तथा अनिश्चित परिस्थितिका कारण कतिपय समयमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलको अवस्था सिर्जना भए पनि जनताको अडिग सहभागिता र लोकतन्त्रप्रतिको विश्वासका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।
डा. शर्माले निर्वाचन प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, उम्मेदवारहरू तथा राजनीतिक दलहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
त्यसैगरी लोकतन्त्रको सुदृढीकरण, जनमतको सम्मान तथा पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै अहोरात्र खटिने नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूप्रति उनले विशेष आभार प्रकट गरेका छन् ।
जनताको अभिमतलाई सम्मान गर्दै सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको यात्रामा निरन्तर समर्पित रहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
उनले पुनः एकपटक सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै लोकतन्त्र सुदृढ बनाउन सबैको साथ आवश्यक रहेको बताएका छन् ।








