छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण मतदान: नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकभर शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान कार्य सम्पन्न भएको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपी कार्कीले सुरक्षा निकायहरुबीचको आपसी समन्वय र एकीकृत सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको बताएका हुन् ।

उनकाअनुसार छिटपुट विवादहरू बाहेक मुलुकभर शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखाको केही निर्वाचन क्षेत्रमा देखिएको विवाद साम्य पार्न दलहरू र निर्वाचन अधिकृतहरुबीच छलफल भइरहेको बताए ।

उनले भने ‘यो मतदान हुने दिनसम्म आई पुग्नको लागि हामीले नेपालभरका सबै ठाउँमा सुरक्षाको पूर्वतयारी परस्पर सबै सुरक्षा निकायहरूका बीचमा एकीकृत सुरक्षा योजना बनाएर एकीकृत भएका थियौँ । यो आजको दिन आई पुग्नको लागि आजभन्दा अगाडि अपनाइएका रणनीतिहरूले काम गरेका छन् । आज देशभरका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको छ । दोलखामा भने केही विवाद भएको कारण त्यसको टुङ्गो लागिसकेको छैन । सबै राजनीतिक दलका बीचमा छलफल पनि चलिराखेको छ । त्योभन्दा बाहेकका सबै मतदानस्थलहरुमा सामान्य दलीय प्रकृतिका केही विवादहरू भएतापनि त्यहाँस्थित दलका प्रतिनिधि र निर्वाचन अधिकृतले नै समस्या हल हुने गरेर अगाडि जानुभएको छ । समग्रमा देशभरको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक ढंगले सम्पन्न भएको छ ।’

आईजीपी कार्कीले जेन–जी आन्दोलनपछि प्रहरीको मनोबल केही खस्किएको भएपनि सीमित स्रोत–साधनका बाबजुद पनि मुलुकको सुरक्षामा नेपाली सुरक्षा निकायले समर्पित भावनाका साथ काम गरेको उल्लेख गरे । उनले नेपालको सुरक्षा संयन्त्रले भवन, स्रोत–साधन र कानुनी व्यवस्थाभन्दा पनि कर्तव्यबोध र समर्पणलाई केन्द्रमा राखेर काम गर्दै आएको सुनाए ।

सुरक्षाकर्मीहरूले मुलुकलाई सर्वोपरि मान्दै व्यक्तिगत सुविधा र इन्द्रियसुख त्यागेर कर्तव्य निर्वाह गरेकै कारण घोषित मितिमै शान्तिपूर्ण ढंगले निर्वाचन सम्भव भएको समेत बताए । उनले कठिन परिस्थितिमा भत्किएका संरचना र जलेका सवारीसाधनबीच समेत सुरक्षाकर्मीहरूले पर्याप्त स्रोत–साधन र उपकरण बिना नै सडकमा खटिएर जिम्मेवारी पूरा गरेको बताए ।

उनले भने ‘नेपालको सुरक्षा निकायहरू भवनले भन्दा भावनाले, कानुनले भन्दा कामनाले र साधन स्रोतले भन्दा पनि साधनाले काम गर्दै आएका छन् । हामीले मुलुकलाई शीरमा राखेर आफ्ना इन्द्रिय सुखहरूलाई पनि परित्याग गर्दै कर्मचारीको मनोबल बढाउने कुरामा काम गर्ने हो । ती भत्केका संरचनाहरू, जलेका सवारी साधनहरूका बीचबाट पनि हाम्रा सुरक्षाकर्मीसँग युनिफर्म र स्रोत साधन नहुँदा पनि खाली खुट्टा सडकमा उठेर काम गरेकै हुन् । त्यो नेपाली जनताप्रति उनीहरूको समर्पणभाव हो । सधैँभरि त्यस्तै अवस्थाले काम गर्दैन । यसबीचमा कर्पोरेट क्षेत्रको सहयोग लिने, सरकारकी सहयोग प्राप्त गर्नेदेखि सुरक्षाकर्मीको मनोबल बढाउन नागरिकस्तरबाट पनि सहयोग भएको हो । त्यसले थप काम गर्नको लागि उत्प्रेरित पनि गरेको छ । त्यो अवस्थाबाट यो अवस्थामा आउनको लागि सुरक्षा निकायका बीचमा समर्पणभाव र न्यून स्रोत र साधनका बीच पनि मुलुकको अवस्था हेरीकन पनि परिणाममुखी काम गर्नुपर्छ भन्ने सोच नेतृत्वले राखेको छ ।’

उनले मतपेटिका संकलनदेखि मतगणना कार्य सम्पन्न नहुँदासम्म सबै सुरक्षा निकायका लागि जिम्मेवारी तोकिएको भन्दै योजनाअनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =