देशभर उत्साहपूर्ण मतदान, १० बजेसम्म ६ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभर एकैसाथ मतदान प्रक्रिया जारी रहेको छ । मुलुकभरका सबै निर्वाचन केन्द्रहरूमा बिहानैदेखि शान्तिपूर्ण र निर्बाध रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान सुरु भएको पहिलो केही घण्टामा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । प्राप्त पछिल्लो विवरण अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । यो संख्या कुल मतदाताको करिब ६ प्रतिशत हुन आउँछ ।

आयोगले दिएको जानकारी अनुसार बिहानको समयमा केही स्थानमा मतदाताको उपस्थिति सामान्य रहे पनि घाम लाग्ने क्रमसँगै मतदान केन्द्रहरूमा भिड बढ्न थालेको छ । मतदानका लागि आयोगले आज साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूले मतदान गर्न पाउने सुनिश्चितता गरिएको छ ।

आयोगले सबै क्षेत्रमा सुरक्षा प्रबन्ध मजबुत पारिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सर्वसाधारणलाई अपिल समेत गरेको छ । अहिलेसम्म कतैबाट पनि अप्रिय घटनाको खबर प्राप्त नभएको र निर्वाचन प्रक्रिया अत्यन्तै मर्यादित ढङ्गले अघि बढिरहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =