निर्वाचनपछि पनि स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले मुलुकको वर्तमान निर्वाचन प्रणालीका कारण कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून रहेको टिप्पणी गरेका छन् । चितवनको राप्ती नगरपालिका–५ स्थित मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनपश्चात् पनि देशले तत्काल राजनीतिक स्थायित्व पाउनेमा आशङ्का व्यक्त गरेका हुन् ।
पाण्डेले ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणाली कायम रहेसम्म एकल बहुमत प्राप्त गर्नु ‘फलामको चिउरा चपाउनु’ सरह रहेको उल्लेख गरे । उनले भने, ‘अहिलेको संवैधानिक व्यवस्थाले नै एकल बहुमतलाई कठिन बनाएको छ, यस्तो अवस्थामा निर्वाचनपछि पनि देशमा राजनीतिक समीकरणको जोडघटाउ चलिरहने र मुलुक पुनः मध्यावधितर्फ जान सक्ने जोखिम देखिन्छ ।’
उनले निर्वाचनलाई भदौ अन्तिम सातापछि बदलिएको राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गरे । छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै उनले नेपालमा संविधानका आधारभूत एजेन्डा र शासकीय स्वरूपमाथि पर्याप्त छलफल नगरी चुनाव मात्र गरिएकोमा असन्तुष्टि जनाए । उनले भने, ‘बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइयो, तर नेपालमा दलहरू केवल सरकार बनाउने र प्रधानमन्त्रीको कुर्सी कसले पाउने भन्ने होडमा मात्र केन्द्रित भए ।’
राजनीतिमा देखिएको नयाँ चुनौतीबारे चर्चा गर्दै पाण्डेले डिजिटल युगको प्रभावलाई नजरअन्दाज गर्न नमिल्ने बताए । ‘डिजिटल एज’ र यसबाट प्रवाहित हुने सूचना तथा भ्रमले जनमतलाई तीव्र रूपमा प्रभावित पारिरहेको उनको विश्लेषण छ । उनले भने , ‘मानिसको भावना र डिजिटल माध्यमको प्रभावलाई बुझेर राज्यले सही नीति लिन सकेन भने अस्थिरता थप बढ्नेछ ।’
देशको समृद्धिका लागि आर्थिक विकास मुख्य आधार भएको तर्क गर्दै उनले जनता सन्तुष्ट हुन आर्थिक लय समात्न जरुरी रहेको औँल्याए । वि.सं. २०७४ को निर्वाचनमा एमाले र माओवादी मिल्दा आएको नतिजालाई राजनीतिको ‘क्लाइमेक्स’ मान्दै उनले अहिलेको अवस्थामा कुनै पनि दलले त्यस्तो नतिजा दोहोर्याउन कठिन हुने दाबी गरे । चुनौतीपूर्ण समयमा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा उनले खुसी व्यक्त गरे ।








