हर्क साम्पाङले कारमेल स्कुलबाट गरे मतदान

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हर्कराज साम्पाङले आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले बिहान धरान उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
धरानका मेयरसमेत रहेका साम्पाङ यसपटक श्रम संस्कृति पार्टीका तर्फबाट सुनसरी–१ मा प्रत्यक्षतर्फका उम्मेदवार छन् । मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले मुलुकमा श्रम संस्कृतिको जग बसाल्न र जनताको अधिकार सुनिश्चित गर्न यो निर्वाचन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको यो तेस्रो प्रतिनिधिसभा निर्वाचन हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी विद्रोह’ पछिको बदलिँदो राजनीतिक परिवेश र सुशीला कार्की नेतृत्वको सरकारले तोकेको समयमा यो निर्वाचन भइरहेको छ । यसअघि वि.सं. २०७४ र २०७९ मा निर्वाचन सम्पन्न भएका थिए । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ र ११० स्थानमा समानुपातिकतर्फका लागि मतदान जारी छ ।








