अमेरिका-इजरायली आक्रमण : इरानभर २०१ को मृत्यु

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले शनिबार गरेको शृंखलाबद्ध हवाई आक्रमणका कारण ठूलो मानवीय क्षति भएको छ । दक्षिणी इरानस्थित एउटा विद्यालयमा मिसाइल खस्दा कम्तीमा १०८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यससँगै इरानभर भएका पछिल्ला हवाई आक्रमणहरूमा परी मृत्यु हुनेको कुल संख्या २०१ पुगेको छ भने ७४७ जना घाइते भएका छन् ।

अधिकारीहरूका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको उक्त विद्यालयमा तीनवटा मिसाइल बजारिएका थिए । सो विद्यालय इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर’ (आईआरजीसी) को शिविरबाट करिब ६०० मिटरको दूरीमा मात्र पर्दछ । अमेरिका र इजरायलको मुख्य निशाना आईआरजीसीको शिविर भए पनि नजिकैको विद्यालयमा मिसाइल खस्दा उक्त त्रासदीपूर्ण घटना हुन पुगेको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक हवाई हमलामै इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन् । यस दाबीले मध्यपूर्वको तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विद्यालयमाथिको आक्रमणलाई ‘जंगली र बर्बर कार्य’ को संज्ञा दिएका छन् । उनले यस घटनालाई ‘आक्रमणकारीहरूको अपराधको इतिहासमा थपिएको अर्को कालो पाना’ भन्दै कडा निन्दा गरेका छन् । यद्यपि, अमेरिका र इजरायलले विद्यालयमा भएको आक्रमणको औपचारिक पुष्टि भने गरेका छैनन् ।

घटनालगत्तै जेनेभास्थित रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनास्थलतर्फ उद्धार टोली परिचालन गरिएको जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले विस्फोटपछिका केही भिडियो फुटेजहरूलाई प्रमाणीकरण गरेको छ । जसमा भग्नावशेषबाट धुवाँको मुस्लो निस्किएको, त्रसित मानिसहरूको भीड लागेको र चित्कार सुन्न सकिन्छ ।

तर, इरानले विदेशी पत्रकारहरूलाई सहजै प्रवेशाज्ञा (भिसा) नदिने भएकाले मृतकको यकिन संख्या र स्वतन्त्र तथ्य संकलनमा भने कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनापछि इरानी नागरिकहरूले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । युद्धको विरोध गर्दै आएका एक प्रवासी इरानीले मिनाबका ४० जना बालिकाहरू मिसाइल आक्रमणको शिकार भएको भन्दै बाह्य सैन्य हस्तक्षेपको कडा निन्दा गरेका छन् ।

तर, इरानी सत्ताप्रति असन्तुष्ट रहेको नागरिकको ठूलो पंक्तिले भने यो क्षतिको जिम्मेवार आफ्नै सरकारलाई समेत ठहराएको छ । सरकारले जनतालाई सुरक्षित आश्रयस्थल नदिएको, सञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध पारेको र युद्धको समयमा पनि विद्यालय बन्द गर्न पूर्वचेतावनी नदिएर बालबालिकालाई मृत्युको मुखमा धकेलेको भन्दै नागरिकहरूले इरानी सत्ताको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =