अमेरिकाको कुनै पनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने इरानको चेतावनी

काठमाडौं । इरानले अमेरिकाको कुनै पनि गतिविधिलाई ‘आक्रमणको कार्य’ मान्ने चेतावनी दिएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानमाथि जुनसुकै स्तर वा आकारको आक्रमण गरे पनि त्यसलाई आक्रमणको कार्य ठानिनेछ र यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए । उनले भने, ‘यदि इरान र अमेरिकाबीच भइरहेको अप्रत्यक्ष आणविक वार्ता युद्धमा परिणत भएमा इरानी सशस्त्र सेनाले उचित जवाफ दिनेछन् । इरानी सेना सधैं सतर्क छ र देशको रक्षा गर्न २४ घण्टा तयार रहेको छ ।’

बघाईले इरानी सशस्त्र सेनाले कूटनीतिक वार्तासँगै घटनाक्रमको निगरानी गरिरहेको बताए । इरान कूटनीतिक मार्गलाई गम्भीरतापूर्वक पछ्याउन प्रतिबद्ध छ र आगामी दिनमा अमेरिकासँग नयाँ चरणको वार्ता गर्ने आशा गरेको छ ।

यो महिनाको सुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा इरान र अमेरिकाका प्रतिनिधिमण्डलहरूबीच अप्रत्यक्ष आणविक वार्ताका दुई चरण सम्पन्न भएका थिए । नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने अपेक्षा गरिएको छ । इरान र अमेरिकाबीच बढ्दो तनावका बीच यो कूटनीतिक प्रयास भइरहेको छ । जसमा पश्चिम एसियामा अमेरिकी सेनाको उपस्थिति पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =