अमेरिकामा हिमआँधीले जनजीवन अस्तव्यस्त, हजारौँ उडान रद्द

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । कीर्तिमानी हिमपात र आँधीका कारण यातायात, विद्युत् र हवाई सेवा पूर्णतः अवरुद्ध हुँदा लाखौँ मानिस समस्यामा परेका छन् ।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका कतिपय स्थानमा ३३ इन्च (८३ सेन्टिमिटर) सम्म हिउँ जमेको छ । न्यूयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिमपात भएको बीबीसीले जनाएको छ । न्यूयोर्क प्रशासनले सडकको अवस्था निकै खराब र यात्रा गर्न ‘झन्डै असम्भव’ रहेको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।
हिमआँधीका कारण न्यूजर्सी, म्यासाचुसेट्ससहित पूर्वी तटका विभिन्न राज्यमा ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ । नर्थ क्यारोलिनादेखि नर्दन मेन र पूर्वी क्यानडाका केही क्षेत्रसम्म नै हिमआँधीको चेतावनी र सतर्कता जारी गरिएको छ ।
भत्कियो ४७ वर्ष पुरानो कीर्तिमान
मौसम विभागका अनुसार कतिपय क्षेत्रमा मंगलबार बिहानसम्म थप दुई फिटसम्म हिउँ थपिन सक्ने सम्भावना छ । रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेसँगै झण्डै पाँच दशक पुरानो कीर्तिमान तोडिएको छ । यसअघि सन् १९७८ को फेब्रुअरीमा त्यहाँ २८.६ इन्च हिउँ जमेको रेकर्ड थियो । अमेरिकाकै सबैभन्दा सानो राज्य रोड आइल्याण्डका लागि यो इतिहासकै सबैभन्दा ठूलो हिमपात मानिएको छ । मौसममा सुधार आउन अझै केही समय लाग्ने अनुमान गरिएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रोड आइल्याण्ड र कनेक्टिक्टमा अत्यावश्यक बाहेकका सबै यात्रामा रोक लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी क्षेत्रमा गैर–आवश्यक सवारी सञ्चालनमा प्रतिबन्ध लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिइन् । उनले ‘ह्वाइटआउट’ (हिउँका कारण दृश्यता शून्य हुने अवस्था) ले गर्दा यात्रा अत्यन्तै जोखिमपूर्ण भएको भन्दै सबैलाई घरभित्रै रहन आग्रह गरिन् ।
म्यासाचुसेट्सको बार्नस्टेबल काउन्टीमा मात्रै ८५ प्रतिशत बासिन्दा विद्युत्विहीन भएका छन् । यता न्यूयोर्क शहरमा लगाइएको यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको यो महानगर केही समयका लागि ठप्प बनेको थियो । यद्यपि, दिउँसो १२ बजेपछि भने त्यहाँको प्रतिबन्ध हटाइएको छ ।
उडान ट्र्याकिङ साइट ‘फ्लाइट अवेर’ का अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी कुल ५ हजार ६ सय ७५ भन्दा बढी उडान रद्द भएका छन् । न्यूयोर्कको ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान कटौती गरिएको छ । यस्तै लोगन, नेवार्क लिबर्टी र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलका अधिकांश उडान समेत रद्द भएका छन् ।
कनेक्टिकट र न्यूजर्सीमा ढलेका रुख र भाँचिएका हाँगाका कारण सडक यात्रा थप जोखिमपूर्ण बनेको छ । प्रोभिडेन्समा हिउँ पन्छाउने सवारीलाई अवरोध पुर्याएको भन्दै सडकमा अलपत्र परेका ३०० भन्दा बढी गाडीलाई क्रेनको सहायताले हटाइएको छ ।










