पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने

तानसेन । पाल्पामा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तरराष्ट्रिय लायन्स क्लबको आर्थिक सहयोगमा पाल्पा अस्पताल विकास समितिसँगको समन्वयमा फोहर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।
लायन्स क्लबका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिबीच अस्पतालमा भएको छलफलपछि सो कार्यका लागि फोहर व्यवस्थापन तथा वातावरणीय सुरक्षा परियोजना सञ्चालन गरिने टुङ्गो लागेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्मचार्यले जानकारी दिए ।
उनका अनुसार एक लाख अमेरिकी डलर लागतमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र बनाउने सहमति भएको छ ।
अस्पतालबाट दैनिक उत्पादन हुने फोहरमा सुई, रगत लतपतिएका कपडाबाट अस्पतालमा आउने बिरामी, कुरुवा र अस्पताल वरपरका बासिन्दालाई समेत जोखिम हुने भएकाले परियोजनामार्फत अस्पतालको फोहरलाई वैज्ञानिक ढङ्गले निरुत्साहित र विसर्जन गर्न लागिएको लायन्स क्लबका पूर्वअध्यक्ष एवं डिष्ट्रिक सिनियर एडभाइजर प्रदीपकुमार उदयले बताए ।
परियोजनाको कूल लागतमध्ये ७५ प्रतिशत रकम ७५ हजार डलर अन्तरराष्ट्रिय लायन्स क्लबले बेहोर्नेछ भने बाँकी २५ प्रतिशत रकम पाल्पा अस्पतालले ‘म्याचिङ फण्ड’ का रूपमा उपलब्ध गराउनुपर्ने उहाँले उल्लेख गरे ।
अस्पताल प्रशासन तथा विकास समितिले जिल्लाका १४ वटा लायन्स क्लबहरूसँग गरेको छलफलमा लायन्सकर्मीहरूले अस्पतालको पूर्वाधार विकासमा ठूलो लगानी गर्न तयार रहेको बताएका छन् ।








