धादिङ बस दुर्घटना: उम्मेदवार राजेन्द्र पाण्डेले गरे स्थलगत अनुगमन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा धादिङ क्षेत्र नम्बर–१ का उम्मेदवारसमेत रहेका राजेन्द्र पाण्डेले धादिङस्थित भैंसिगौडामा भएको बस दुर्घटनास्थलको स्थलगत अनुगमन गरेका छन् । बस दुर्घटनाको खबर प्राप्त हुनासाथ उनि घटनास्थल पुगेका हुन् ।
भैंसिगौडास्थित रोराङमा, पृथ्वी राजमार्ग अन्तर्गत दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । गएराति पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनास्थलमा पुगेर पाण्डेले त्यहाँ खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्मीसँग अवस्थाबारे जानकारी लिएका थिए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा स्थानीय उद्धारकर्ताहरूसँग समन्वय गरी उद्धार तथा उपचार कार्यलाई तीव्र र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
पाण्डेले घाइतेहरूको शीघ्र उपचार र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।








