शंकाको बादल चिर्दै गौरमा सद्भाव र्याली, हातमा हात मिलाएर सडकमा उत्रिए दुई समुदाय

काठमाडौं । रौतहटको सदरमुकाम गौरमा केही दिनदेखि देखिएको साम्प्रदायिक संवेदनशीलता मत्थर भएसँगै जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । गत बिहीबार सबगढामा दुई पक्षबीच भएको विवादले निम्त्याएको तनावलाई साम्य पार्न र स्थानीयमा आपसी विश्वास जागृत गराउन सोमबार बिहान नागरिक समाजको अगुवाइमा विशाल शान्ति सद्भाव र्याली निकालिएको हो ।
हिन्दु र मुस्लिम समुदायको उल्लेख्य सहभागिता रहेको उक्त र्यालीले नगरमा आपसी भाइचारा, सहअस्तित्व र एकताको सन्देश प्रवाह गरेको छ । गौर नगरपालिका-६ सबगढास्थित मस्जिद नजिकै जन्तीको बाजा बजाउने विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि यहाँको स्थिति तनावपूर्ण बनेको थियो ।
सोमबारको र्यालीले केही दिनदेखि व्याप्त अविश्वास र आशङ्कालाई चिर्दै समुदायबीच पुनः मैत्रीपूर्ण वातावरण निर्माण गर्न ‘कोसेढुङ्गा’ को काम गर्ने विश्वास सहभागीहरूले व्यक्त गरे । सबगढाको मुख्य सडकबाट सुरु भएको सद्भाव र्यालीले प्रभावित क्षेत्रहरूको परिक्रमा गरेको थियो । र्यालीमा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणले सामूहिक रूपमा ऐक्यबद्धता जनाएका छन् ।
शान्ति सुरक्षाको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसोदेखि लगाएको अनिश्चितकालीन कर्फ्युलाई सोमबार बिहान ६ देखि १० बजेसम्मका लागि खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ भने सर्वसाधारणले दैनिक उपभोग्य वस्तुको खरिद सुरु गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरेर कर्फ्यु पूर्ण रूपमा हटाउने वा निरन्तरता दिने भन्ने विषयमा सुरक्षा निकायबीच छलफल भइरहेको बताए । उनले स्थिति नियन्त्रणमै रहेको र थप सुरक्षा सतर्कता अपनाइएको जानकारी समेत दिए ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा सम्पन्न सो सद्भाव र्यालीमा प्रमुख जिल्ला अधिकारी भुसालसहित नारायण दल गणका प्रमुख कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीको उपस्थिति थियो ।








