सही कुराका लागि मात्रै मेरो जिद्दी हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँ सही कुराका लागि मात्रै अडिग रहने गरेको बताएका छन् । आफ्नो किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ आफू मैदानमा होमिएको उल्लेख गरेका हुन् ।

उनले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भए पनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ । उनमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै उनले आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।

उनले भने, ‘मैले करिब किशोरावस्था नै थियो, विवाह पनि भइसकेको थियो । त्यसबेला पञ्चायत फाल्नुपर्छ, राजतन्त्र फाल्नुपर्छ भन्ने लाग्यो मलाई, म त्यस काममा लागेँ । लागेपछि लागें, लागें । जबसम्म पञ्चायत फालिएन, जेल परियोस् कि, जेल ठोकियोस् कि, हत्कडी लगाओस् कि, यातना दियोस् कि, कुटोस् कि, पिटोस् कि, भोकै राखोस् कि, जे सुकै गरे पनि राजतन्त्र फाली छाड्छु, पञ्चायत फाली छाड्छु । यो संकल्प पूरा नभएसम्म लागेको लाग्यै गरियो । त्यसैगरी सानो ठाउँबाट निर्माण सुरु गरेर नेकपा एमाले देशको प्रमुख पार्टी बनाई छाड्छु भन्ने कुरा पनि गरियो र नेपालमा दुई तिहाइ हैसियतको पार्टी समेत निर्माण गरियो । त्यो कुरा सहन नसक्नेहरूले फुटाए, त्यो आफ्नो ठाउँमा छ । त्यसलाई कमजोर पारे, त्यो आफ्नो ठाउँमा छ, त्यो भोलि त्यस सन्दर्भमा कुरा होला । संघर्षशील जिन्दगी भनेको रमाइलो जिन्दगी होइन । तर संघर्षको अन्त्यमा, सही कुरा । एउटा संघर्ष गर्दा सही कामका लागि, सही कुराका लागि संघर्ष गर्नुपर्छ । जिद्दी गर्छ भन्ने अलिकति आरोप छ मलाई यस किताबमा । जिद्दी म केमा गर्छु भन्दा, नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।’

संघर्षशील जिन्दगी रमाइलो नहुने तर सही कामका लागि गरिने संघर्षको अन्त्य सुखद् हुने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =