मृत्यु संस्कार सहज बनाउन विकास समितिको पहल

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले काठमाडौँ महानगरपालिका–६ का बासिन्दाका लागि मृत्यु संस्कारमा सहयोग गर्ने निर्णय गरेको छ। मानव जीवनको सबैभन्दा पीडादायी क्षणका रूपमा रहने मृत्यु संस्कारलाई सहज बनाउने उद्देश्यले समितिले अब उक्त वडाका स्थानीयलाई दाहसंस्कारका लागि आवश्यक काठ दाउरा निःशुल्क उपलब्ध गराउने भएको हो।
यस कार्यक्रमअन्तर्गत आज नेपाल वन निगम लिमिटेडसँग काठ खरिदसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। आयोजित कार्यक्रममा विकास समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक मोहनकुमार लामा, सदस्य पशुपतिनाथ खतिवडा तथा वन निगमका प्रमुख कार्यकारी अधिकृत मनबहादुर खड्का, उप प्रबन्धक अनिलराज पाण्डेय, सहायक प्रबन्धक शुष्मा आचार्य र जम्मु धुर्साका अध्यक्ष आले लामा लगायतको उपस्थिति रहेको थियो।
सम्झौता कार्यक्रममा बोल्दै समितिका अध्यक्ष राजकुमार लामाले आर्थिक अवस्था कमजोर भएकै कारण दाउरा किन्ने रकमसमेत जुटाउन नसक्दा दाहसंस्कारमा कठिनाइ भोगिरहेका परिवारहरूको पीडामा मलम लगाउने उद्देश्यले यो पहल अघि बढाइएको जानकारी दिए। उनले स्थानीय बासिन्दालाई संस्कार सम्पन्न गर्न आर्थिक अभावले अवरोध नहोस् भन्ने सोचका साथ कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पारे।
समितिको यो निर्णयले विशेष गरी विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।








