सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍यो : मन्त्री इङनाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. कुमार इङनामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताएका छन् । उनले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्न सके सकारात्मक सन्देश जाने र राजस्व पनि वृद्धि हुने धारणा राखेका हुन् । 

आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङनामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताए । भूमि, मालपोत, नापी सर्वसाधारणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरूमा घुसको लेनदेन हुँदा आम सर्वसाधारण निराश बनिरहेका उनको भनाइ छ । उनले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरुरी रहेको बताए । मन्त्री इङनामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजस्वमा करिब ५० अर्ब रुपैयाँको फरक पार्ने बताए । मन्त्री इङनामका अनुसार जग्गा खरिद बिक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजस्व छल्ने राजस्वमारा नै देखिएका छन् । उनका अनुसार भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर जारी गरेको छ । त्यसले राजस्वमा ५० अर्ब वृद्धि हुनेछ । जग्गा खरिद बिक्रीमा हुने राजस्व छलीको विषयमा बोल्दै मन्त्री इङनामले वडामा दर्ता भएको तमसुक (लिखत) लाई आधार मानेर राजस्व असुल गर्न निर्देशन दिइएको स्पष्ट पारे ।

उक्त सर्कुलरअनुसार अब यदि कुनै जग्गा खरिद बिक्रीका लागि वडामा दर्ता गरेको तमसुकलाई आधार मानेर राजस्व असुल गर्न मालपोतसहितका सरोकारवाला निकायहरूलाई निर्देशन दिइएको उनको भनाइ छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा. डा. इङनामले भने, ‘अहिले दिनका दिन राज्यलाई गाली गर्दै, यहाँको प्रशासनलाई गाली गर्दै विदेशमा नागरिक पलायन भइरहेका छन् । विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि हो । भूमि, मालपोत, नापी सर्वसाधारणको सरोकार भएको ठाउँ हो । उद्योगपतिका लागि अरू अरू छन् । आयात गर्नेका लागि भन्सारहरू छन् । ठूलो कर तिर्नेका लागि कर कार्यालयहरू छन् । तर आम सर्वसाधारणका लागि भूमि नै हो । भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न सकियो भने यसले सकारात्मक सन्देश दिन्छ । राजस्व पनि वृद्धि हुन्छ । भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर गरेको छ । त्यसले राजस्वमा ५० अर्ब जति फरक पार्नेछ । अहिले उठेको भन्दा त्यति राजस्व वृद्धि हुनेछ । जग्गा खरिद बिक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजस्व छल्ने राजस्वमारा नै देखिँदा रहेछन् । सिस्टमले बनाएको होला । त्यसले अहिले सर्कुलर गरेर यदि कुनै जग्गा खरिद बिक्रीका लागि वडामा दर्ता गरेको जुन तमसुक छ, त्यसलाई आधार मानेर राजस्व असुल गर्नु भनेर भनिएको छ । जग्गाको दाम सरकारले तोकेको १० लाख होला, रियल कारोबार ५० लाख होला । उसले १० लाखको कर तिर्ला र काम खत्तम गर्छ । त्यसले गर्दा राजस्व समाप्त भएको छ । यस्तो स्थितिलाई हामीले करेक्सन गरेर लानुपर्छ । राज्यको उन्नति प्रगतिका लागि कर्मचारीतन्त्रले गरेको इमानदारीले राज्यमा परिवर्तन हुन सक्छ । यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासनले नै गराउनुपर्छ ।’

मन्त्री इङनामले राज्यको उन्नति र प्रगतिका लागि कर्मचारीतन्त्रको इमानदारी महत्त्वपूर्ण हुने बताए । उनका अनुसार यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासनले नै गराउनुपर्छ । सेवाग्राहीप्रति कर्मचारीको व्यवहारमा समेत आमूल सुधार आउनुपर्ने मन्त्री इङनामले बताए । उनका अनुसार कोही पनि सेवाग्राहीलाई कर्मचारीले निराश पार्नु हुँदैन । हुन सक्ने कामहरूमा निराश बनाउँदा पनि जनतामा निराशा चुलिएको छ । कर्मचारीतन्त्रले हुने काम समयमै गरिदिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =