नयाँ संसद् भवनमा आगामी अधिवेशन चलाउने तयारी: काम सक्न दाहालको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद भवन निर्माणको गति बढाउन निर्देशन दिएका छन् ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उनले आगामी अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी काम सक्न निर्देशन दिए । अध्यक्ष दाहालले भवन निर्माणको स्तर र गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै निर्माणको तिब्रता नदेखिएको स्पष्ट पारे ।
यद्यपि, पछिल्लो समय केही प्रगति भएको उनको भनाइ छ । सदन चलाउने बेलासम्म यसलाई बनाउनुपर्छ भन्ने स्पिडका साथ धेरै पटक निर्देशन दिइसकेको बताए ।
उनले केही दिन अघि मात्रै शहरी विकास मन्त्रालयका सचिव र सम्बन्धित पक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको जानकारी दिए ।
अध्यक्ष दाहालकाअनुसार सम्पूर्ण भवन परिसरका सबै काम तत्कालै नसकिए पनि कम्तीमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सञ्चालन हुने हलहरू तयार हुनुपर्नेछ ।
निर्वाचन पछिको सदन नयाँ भवनमै चलाउने लक्ष्यका साथ सरकार र निर्माण पक्षलाई दबाब दिइएको उनको भनाइ छ ।
नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै अध्यक्ष दाहालले फिनिसिङ र अन्य प्राविधिक पक्षहरूमा पनि ध्यान दिन आग्रह गरे । आगामी अधिवेशनसम्म मुख्य हलहरू हस्तान्तरण हुनेमा उनले आशा व्यक्त गरेका छन् ।








