विराटनगरमा सुकुम्बासी व्यवस्थापन र चक्रपथ निर्माण प्राथमिकतामा: शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस का वरिष्ठ नेता एवं मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइराला ले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस विराटनगर वडा नं. ६ द्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका समस्या समाधानलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारे । उनले सुकुम्बासी आयोगका सदस्यसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधि स्वयं बस्तीमै पुगेर स्थानीयका समस्या सुन्ने वातावरण बनाइने बताए ।
“म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु । आयोगका सदस्यसँग कुरा भएको छ। उहाँ यहाँ आउनुहुन्छ, तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको काम अघि बढ्छ,” उनले भने । सुकुम्बासीलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाइने उनको दाबी थियो ।
उनले अर्को महत्वपूर्ण एजेन्डाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारे । चक्रपथ निर्माण नहुँदा शहरको विकासले अपेक्षित गति लिन नसकेको उनको भनाइ थियो । “चक्रपथ बनेको भए वडा नं. ६ र ४ को स्वरूप नै फरक हुन्थ्यो। व्यापार, आवागमन र पूर्वाधार विकासमा ठूलो परिवर्तन आउँथ्यो, तर दुर्भाग्यवश काम अघि बढेन,” उनले उल्लेख गरे ।
यसपटक आफू निर्वाचित भए चक्रपथ निर्माणलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा समन्वय जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
वडा नं. ६ भित्रको कालोपत्रे सडक निर्माण सम्बन्धी विषयमा बोल्दै उनले ठेक्का लागिसके पनि ठेकेदार फरार हुँदा काम अलपत्र परेको बताए । निर्वाचनपछि उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने उनले आश्वासन दिए । “काम सुरु भएर पनि अधुरो रहनु दुःखद हो। अब यस्तो ढिलाइ हुन दिइँदैन,” उनले भने । त्यसका लागि कांग्रेसलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरे ।
यसैगरी, वडा नं. ६ नजिकै रहेको सुकुम्बासी बस्ती क्षेत्रमा अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए । करिब दुई वर्षअघि नै सो क्षेत्रमा अस्पताल निर्माणका लागि जग्गा छुट्याइएको उल्लेख गर्दै उनले अब त्यसलाई कार्यान्वयनको चरणमा लैजानुपर्ने बताए । स्थानीय बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन अस्पताल अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो ।








