लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् ।

बिहीबार कर्णालीमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताए । लोकतन्त्र खतरामा रहेको भन्दै गरिएका अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले केपी शर्मा ओलीप्रति लक्षित टिप्पणीसमेत गरे ।

‘लोकतन्त्रलाई खतरा थियो भने त्यो खतरा हेलिकप्टर चढेर भागिसकेको छ,’ उनले भने, ‘त्यो हेलिकप्टर फेरि सिंहदरबार वा बालुवाटारमा ल्याण्ड नभएसम्म लोकतन्त्र सुरक्षित रहन्छ ।’

लामिछानेले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति नै जनताको मताधिकार भएको उल्लेख गरे । चुनावले निकास नदिने भन्ने आवाज सुनिएको भन्दै उनले प्रश्न गरे, ‘चुनावले निकास दिँदैन भने के ले दिन्छ ? आन्दोलनले ?’

उनले रास्वपा आन्दोलनभन्दा मतमार्फत परिवर्तन चाहने दल भएको स्पष्ट पारे । ‘हामी भोटबाट फेर्न चाहन्छौं । रगतको एक थोपा पनि चुहाउन चाहँदैनौं,’ उनले भने ।

लोकतन्त्रप्रति धेरै चिन्ता भए सबै दल एकजुट भएर चुनावी मैदानमा आउन उनले चुनौती दिए । ‘घण्टी भर्सेस अल’ को प्रतिस्पर्धामा आउन आग्रह गर्दै उनले जनताले नै अन्तिम फैसला गर्ने बताए ।

रास्वपा लोकतान्त्रिक विधि र मूल्य–मान्यतामा अडिग रहेको उल्लेख गर्दै उनले सरकारसँग शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति माग गरे । ‘रास्वपासँग डराउनुपर्ने जो होस्, उही मात्रै डराओस्, जनता डराउनुपर्दैन,’ उनले भने ।

कर्णालीजस्तो पछाडि पारिएको प्रदेशबाट वाचापत्र सार्वजनिक गरेर नयाँ सन्देश दिएको दाबी गर्दै उनले अब कुनै क्षेत्र पनि पछाडि नपर्ने बताए । निर्वाचनमार्फत देशको भाग्य बदल्ने अभियानमा रास्वपा लागेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =