विराटनगरलाई डुवानमुक्त बनाउने शेखर कोइरालाको प्रतिबद्धता

विराटनगर । शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं–६ का उम्मेदवार कोइरालाले विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ५ करोड रुपैयाँ बजेट आफूले पहल गरेर ल्याएको र सोही बजेटबाट विज्ञान भवन निर्माण सम्पन्न भएको बताएका हुन् ।
“मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो कसले बनायो? मैले पहल गरेर ५ करोड रुपैयाँको योजना ल्याएर बनाएको हुँ,” उनले भने ।
कोइरालाले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा आफू निरन्तर लागिपरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताए । “मैले अध्ययन गरेका बेला जस्तो मोरङ कलेज अहिले छैन । समयअनुसार परिवर्तन र विकास आवश्यक छ,” उनले भने, “यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप पूर्वाधार, प्रयोगशाला र स्रोत–साधन विस्तार गर्नुपर्ने अवस्था छ ।”
उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको धारणा व्यक्त गरे ।
डुवान समस्या समाधानलाई अर्को महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि सार्दै कोइरालाले विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता दोहोर्याए । वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले सुदृढ तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने बताए ।
“केसलिया खोलाले यहाँका बासिन्दालाई वर्षेनी दुःख दिँदै आएको छ,” उनले भने, “सुदृढ तटबन्धन निर्माण गरेर विराटनगरलाई डुवानमुक्त बनाउने मेरो स्पष्ट योजना छ ।”
उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर मात्र दिगो विकास सम्भव छ । विराटनगर–१२ ठूलो र सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकास तथा अन्य पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने उनले बताए ।
विगतमा भएका विकास निर्माणका कामहरूको चर्चा गर्दै कोइरालाले आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । “विकासका काम एक्लैले सम्भव हुँदैनन्। वडा, नगर, प्रदेश र संघ सबैको सहकार्य आवश्यक हुन्छ। त्यसका लागि राजनीतिक स्थिरता र सक्षम नेतृत्व चाहिन्छ,” उनले भने ।
यसैबीच नेपाली कांग्रेस विराटनगर–१२ ले घरदैलो कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ । सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको बताइएको छ ।
चुनावी माहोल तातेसँगै विराटनगर–१२ मा विकास, पूर्वाधार र डुवान नियन्त्रण मुख्य एजेन्डाका रूपमा उभिएका छन् । कोइरालाको विज्ञान भवन निर्माण दाबी र डुवानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ ।








