एमाले गरिब र मजदुरको पक्षमा छ : अध्यक्ष केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँ गरिब, विपन्न र मजदुर वर्गको हितमा उभिएको दाबी गरेका छन् । झापाको दमकमा आयोजित सिटी रिक्सा चालकहरूको भेलालाई सम्बोधन गर्दै उनले नेपालमा भोकमरीको स्थिति लगभग अन्त्य भएको र अबको लक्ष्य पूर्ण रूपमा गरिबी निवारण रहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको मुख्य प्राथमिकतामा विपन्न, सुकुम्वासी र सानो व्यवसाय गर्ने मजदुरहरू रहेको उल्लेख गरे । उनले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने सरकारी नीतिकै कारण देशमा भोकमरीको अन्त्य भएको दाबी गरे । गरिबी अझै पनि चुनौतीको रूपमा रहेको स्वीकार गर्दै उनले विभिन्न उपाय र कार्यक्रमहरूमार्फत यसलाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा सुरु गरिएका स्वास्थ्य बीमा जस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरूको महत्त्वमाथि प्रकाश पारे । ३५ सय रुपैयाँमा १ लाखसम्मको उपचार पाउने व्यवस्था जनताकै करबाट सम्भव भएको बताउँदै उनले सरकारले जनताबाटै स्रोत संकलन गरेर जनताकै हितमा खर्च गर्ने स्पष्ट पारे । उनले विकासको अनुभूति गर्ने र गराउने काममा एमाले नेतृत्वको सरकार सफल भएको जिकिर समेत गरे ।

उनले भने, ‘खासगरी विपन्न, गरिब वर्गका साथीभाइहरू, सानो व्यवसाय, सानो आर्जन हुने व्यवसाय सञ्चालन गर्ने साथीहरू, अथवा सुकुम्वासी, गरिबहरूको सम्बन्धमा हाम्रो पार्टीले सबभन्दा बढी ध्यान दिन्छ । हाम्रो नीति कोही पनि भोकै हुनुहुँदैन, कोही पनि गरिब हुनुहुँदैन भन्ने हो । हामीले झन्डैझन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ । अहिले भोकमरी भन्ने त्यस्तो छैन, किनभने मान्छे खानै नपाएर मर्ने खालको अवस्था अहिले नेपालमा छैन, त्यो लगभग अन्त्य गरेका छौँ । गरिबी छ, फेरि पनि । गरिबी छ, त्यो गरिबी अन्त्य गर्न हामी लागिराखेका छौँ । गरिबी अन्त्य गरेरै छोड्नेछौँ । त्यसका विभिन्न उपाय, तरिकाहरू हामी अवलम्बन गरिरहेका छौँ । तसर्थ, साथीहरूलाई यस सन्दर्भमा केके भएको थियो विगतमा, हामीले केके गरेका छौँ, ती कुराहरू । स्वास्थ्य बीमा हामीले प्रबन्ध गर्यौँ । ३५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार गर्न पाइने । यो त सानो कुरा हो नि ? कहाँ ३५ सय, कहाँ १ लाख । यो बीमाको, जीवन बीमाको सम्पूर्ण रूपमा सरकारले मात्रै बेहोर्ने कुरा हामीले के बुझ्नुपर्छ भने फेरि सरकार भनेको त जनताबाटै अलिअलि उठाएर सरकारले काम चलाउने हो । सरकार आफैँसँग पैसा त हुँदैन । त्यही पैसा अलिअलि जनताबाट लिने, अलिअलि जनतालाई दिने । हामीले एउटा खुसी के मान्नुपर्छ भने यस दमकमा अहिले कति जति सिटी रिक्साहरू छन् । ५ हजारभन्दा बढी । अहिले दमकको स्थिति कहाँ पुगेको छ भने ५ हजार भन्दा बढी सिटी रिक्सा, अटो रिक्सा छ । र यो साधारण प्रगतिको कुरा होइन । हिजो दमक कस्तो थियो ? आज दमक कम्तिमा वल्लो छेउ, पल्लो छेउ सबै ठाउँमा पिच बाटो पुगेको छ, फराकिलो बाटो पुगेको छ ।’

आसन्न निर्वाचनप्रति लक्षित गर्दै उनले मजदुरका समस्या समाधानका लागि निर्वाचन पछि थप ठोस कदम चालिने बताए । सिटी रिक्सा चालकहरूका समस्या आफूसम्म आइपुगेको र त्यसलाई लिपिबद्ध गरेर दिन आग्रह गर्दै उनले निर्वाचनको नतिजा लगत्तै ती समस्याहरूको समाधान खोजिने आश्वासन दिए । उनले एमालेको चुनावी चिह्न ‘सूर्य’ मा मतदान गरेर एमालेलाई जिताउन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =