काठमाडौँ क्षेत्र नं ३ मा देश बनाउने वाचासहित घरदैलोमा उम्मेदवार

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ क्षेत्र नं ३ मा चुनावी रौनक बढेको छ ।

दलका घोषणा पत्रसहित उम्मेदवारहरु घरदैलो अभियानमा छन् । आमसभासहित प्रचारप्रसार सुरु भएको छ । गोर्कणेश्वर नगरपालिका–४ का स्थानीय भीमभक्त तामाङले स्वदेशमै रोजगार सिर्जना गर्नेलाई मत खसाल्ने निधो गरेको बताए ।

उमेरले ६५ काटेका उनले रोजगारीको अभावका कारण छोराछोरीलाई बुढेसकालमा विदेश पठाउनुपर्ने बाध्यता रहेको बताए । उनले भने “यो उमेरमा छोराछोरीसँग छुट्टिनुपर्ने बाध्यता छ, स्वदेशमै रोजगार दिए कसलाई विदेशिन मन हुन्छ र ?”

यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँ–३ मा नेपाली कांग्रेसले रमेश अर्याल, नेकपा एमालेले रामेश्वर फुँयाल, रास्वपाले राजुनाथ पाण्डे, नेकपाले निरज लामा, उज्यालो नेपाल पार्टीले पार्टीका अध्यक्ष कुलमान घिसिङलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस, एमाले, नेकपा, रास्वपाले विगतको निर्वाचनमा नदोहोरिएका अनुहारलाई उम्मेदवार बनाएको छभने उज्यालो नेपाल पार्टी पहिलो पटक निर्वाचनमा सहभागी भएको छ ।

यस निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको थियो । रास्वपाका उम्मेदवार राजुनाथ पाण्डेले ‘तपाईँ भोट हाल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने नारा लिएर घरदैलो गरिरहनु भएको छ । उनले पछिल्लो समय युवाको सक्रियतामा विकास गर्ने उद्देश्य लिएको बताए । उनले भने “अब नेतृत्व फेरिएपछि देशले मुहान फेर्छ ।”

उज्यालो नेपाल पार्टीका उम्मेदवार घिसिङले घोषणापत्र समेत जारी गर्दै ‘गफ होइन काम, भाषण होइन परिणाम’ मुख्य नारा समेटेर घरदैलो गरिरहेका छन् । उनले नागरिकको भरोसा जित्ने काममा आफू र आफ्नो पार्टी समर्पित रहेको बताए ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार रामेश्वर फुँयालले संविधान कार्यान्वयन गर्न कानुन बनाउनुपर्ने, सुशासन, समृद्धि, युवालाई स्वदेशमै रोजगार र मुलुकलाई आत्मनिर्भर बनाउने जिम्मेवारी आफूले जितेपछि पूरा गर्ने प्रतिबद्धता जनता समक्ष व्यक्त गर्दै आएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले काठमाडौँ क्षेत्र–३ मा विगतका जनप्रतिनिधिले गरेको विकास र समृद्धिको कामलाई निरन्तरता दिँदै जनताको भावना अनुरुप विकासको मार्गचित्र तयार गर्ने बताए ।

यस निर्वाचन क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाका सबै ९ वटा वडा, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २ र ३ तथा काठमाडौँ महानगरपालिका–६ रहेका छन् । कूल मतदाताको सङ्ख्या ६४ हजार ४७९ छ । यस क्षेत्रमा ७२ निर्वाचनमा मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =