नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरु उभिएको बताएका छन् ।
बुधवार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरु आएको बताएका हुन् ।
उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज रहेको बताए ।
त्यसलाई सम्बोधन गर्न सुधार आवश्यक रहेको उनको भनाई छ । उनकाअनुसार विगत १०–१२ वर्षमा जति विकास हुनुपथ्र्यो, त्यो हुन सकेन । तर अबका पाँच वर्ष खेर जान नदिने उनले प्रतिवद्धता जनाए । सभापति थापाले देश परिवर्तनका लागि आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने बताए ।
देश बनाउन सबै राजनीतिक दलहरूको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ । उनकाअनुसार राजनीतिक दलहरुसंग विमति हुन्छन्, प्रतिष्पर्धा हुन्छ तर देश बनाउन सबै दल चाहिन्छन् । उनले देशमा रहेका सबै राजनितिक दललाई समेटेर अघि बढ्ने राजनीति आजको आवश्यकता रहेको र त्यो भुमिका नेपाली काँग्रेसले निर्वाह गर्ने दाबी गरे ।
आगामी निर्वाचनबाट पपुलिस्ट शक्तिहरू सत्तामा आएमा त्यसको भार नेपालले थेग्न नसक्ने उनको भनाई छ । उनले हालको प्रमुख चुनौती देशलाई पपुलिजमबाट जोगाउनु रहेको उनले बताए ।
परिपक्व लोकतन्त्र भएका देशहरू समेत पपुलिज्मको लहरमा परेको उल्लेख गर्दै उनले नेपालजस्तो अझै संस्थागत रूपमा बलियो नभइसकेको लोकतन्त्रका लागि यो थप चुनौतीपूर्ण हुने बताए ।
उनकाअनुसार विश्वका एकसेएक परिपक्व डेमोक्रेसीहरू पनि पपुलिज्मको शिकार भएका छन् । तर त्यहाँ संस्थाहरू बलिया भएकाले पपुलिज्म केही महिनामै ढल्ने गरेको उनले बताए । नेपालमा संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी बोकेर आएमा त्यसको परिणाम गम्भीर हुने उनले चेतावनी दिए ।
उनले बौद्धिक व्यक्तित्व तथा पेशाकर्मीहरुलाई पपुलिजमको विरुद्धमा बोल्न पनि आग्रह गरे । उनले हाल पपुलिजम शक्तिहरुको विरुद्धमा अहिले बोल्न समेत डराउनुपर्ने अवस्था रहेको उल्लेख गरे ।
तर प्रश्न गर्न पछि नहट्न उनले आग्रह गरे । सत्तामा नपुग्दा नै प्रश्न गर्न नपाईने शक्तिहरु सत्तामा पुगे प्रश्न गर्ने अधिकार सुरक्षित नहुने उनको भनाई छ ।








