रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह र असन्तुष्टि सतहमा आउने क्रम जारी छ । यसै सिलसिलामा पार्टीकी मधेश प्रदेश संस्थापक सभापति एवम् केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्य ममता शर्माले पार्टी परित्यागको घोषणा गरेकी छिन् । प्रेस विज्ञप्ति जारी गर्दै शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् ।

उनले रास्वपाभित्र इमानदार र निष्ठावान् कार्यकर्ताको अवमूल्यन हुने गरेको र पछिल्लो समय पार्टीका मुख्य निर्णयहरू आर्थिक प्रलोभनबाट प्रभावित हुन थालेको गम्भीर आरोप लगाएकी छिन् । विज्ञप्तिमा उनले भनेकी छिन्, ‘पार्टीका महत्त्वपूर्ण निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको पाइएकाले मेरो आत्मसम्मान र राजनीतिक मूल्य-मान्यतामा गम्भीर चोट पुगेको छ। यस्ता गलत क्रियाकलापको साक्षी बनेर अब मौन बस्न मेरो विवेकले दिएन । त्यसैले आजकै मितिदेखि लागू हुने गरी म पार्टीका सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यताबाट समेत अलग भएको घोषणा गर्दछु ।’

नेपालको राजनीतिमा वैकल्पिक शक्तिको नारा दिएर उदाएको रास्वपामा पछिल्लो समय विधि र पद्धतिभन्दा व्यक्तिवादी र आर्थिक स्वार्थ हाबी भएको भन्दै शर्माले असन्तुष्टि पोखेकी छिन् । उनले पार्टीभित्रको अपारदर्शी कार्यशैलीले गर्दा आफूलाई राजनीतिक रूपमा अगाडि बढ्न कठिन भएको उल्लेख गरेकी छिन् ।

रास्वपामा आर्थिक चलखेलको आरोप लागेर नेताहरूले पार्टी छोडेको यो पहिलो घटना भने होइन । यसअघि पनि आम निर्वाचनका बेला उम्मेदवार चयन र टिकट वितरणको क्रममा नेतृत्वले आर्थिक लेनदेन गरेको भन्दै केही पुराना नेताहरूले पार्टी परित्याग गरिसकेका छन् । शर्माको बहिर्गमनलाई मधेश प्रदेशमा रास्वपाका लागि ठुलो राजनीतिक धक्काको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =