रूकुमपूर्वबाट प्रचण्डको सन्देश: ‘यहीँबाट समाजवादको नयाँ सन्देश दिन आएको हुँ’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रूकुमकोट पुगेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका प्रचण्डले चुनावी अभियानका क्रममा जिल्लाका विभिन्न विकट स्थानको भ्रमण गरेका हुन् । भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना अनुभव सार्वजनिक गरेका छन् ।

प्रचण्डले भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडासहित दुर्गम बस्तीहरूमा दुई–तीन दिनमै कठिन अभियान सम्पन्न गरेको उल्लेख गर्दै जनताको अभूतपूर्व उत्साहले भौतिक कठिनाइ महसुस नभई नयाँ ऊर्जा प्राप्त भएको बताए ।

‘सबै ठाउँमा सडक सञ्जाल विस्तार, अधुरा बाटो सम्पन्न, क्रमागत योजना पूरा र पुल नभएका स्थानमा पुल निर्माण गर्नुपर्ने माग जनताबाट आएको छ,’ उनले भने ।

उनका अनुसार रूकुमपूर्वका जनताबाट सडक सञ्जालका अतिरिक्त शिक्षा, पर्यटन र रोजगारीप्रति विशेष चासो देखिएको छ । ‘यसअघि निर्वाचित नेताबाट भएका कामप्रति स्वीकार र खुसी छ, तर अब काम गुणात्मक हुनुपर्छ भन्ने जनताको अपेक्षा स्पष्ट छ,’ उनले उल्लेख गरे ।

रूकुमपूर्वमा आफूप्रति असाधारण विश्वास र अपेक्षा देखिएको भन्दै प्रचण्डले त्यसले ठूलो जिम्मेवारीको अनुभूति गराएको बताए । अभियानका क्रममा प्राप्त ज्ञापनपत्रलाई वर्गीकरण गरी पाँच वर्षभित्र जिल्लामा गुणात्मक काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

रूकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ उल्लेख गर्दै उनले यहीँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरे । ‘देश अप्ठ्यारो अवस्थामा छ । यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रूकुमपूर्व आएको हुँ । यहाँबाट जाने सन्देश देशकै लागि महत्वपूर्ण हुन्छ,’ प्रचण्डले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + sixteen =