हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ: घनश्याम भुसाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएको बताएका छन् ।

मंगलवार काठमाडौँमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

राजनीतिक नेतृत्वमा हुनुपर्ने ‘राजनीतिक सङ्कल्प’ को अभावले सुशासन आउन नसकेको भुसालको भनाइ छ । आसन्न निर्वाचनलाई भुसालले ‘अवाञ्छित’ र ‘अपरिहार्य’ को संज्ञा दिए । नेपालको वैदेशिक सहयोग र अनुदानमा बाँच्ने इतिहासलाई उनले ‘अपमानको आधुनिक इतिहास’ भएको बताए ।

लोकतन्त्रको गाईजात्रा र झुटको राजनीति

नेता भुसालले लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख सम्मेलन’ मा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गरे । पञ्चायत कालमा व्यङ्ग्य साहित्यको माध्यमबाट विकृति देखाइने प्रचलन भएपनि अहिले लोकतन्त्रभित्रै नालायकीहरूको प्रदर्शन भइरहेको उनको तर्क छ ।

‘चुनाव अहिले कसले सबभन्दा बढ्ता झुट बोल्नसक्छ र कसले सबभन्दा बढ्ता ढाँट्न सक्छ भन्ने प्रतिस्पर्धाको राष्ट्रिय मञ्च बनेको छ ।’ भुसालले भने ।
उनकाअनुसार यदि जनताले यो तथ्यलाई वास्ता गरेनन् भने मुलुकले गम्भीर ठक्कर खाने निश्चित छ ।

सडक र बाटोको फरक: गन्तव्यविहीन विकास

विकासको चर्चा गर्दा सबैले ‘सडक’ को कुरा गरे पनि कसैले ‘बाटो’ ९दिशा० को कुरा नगरेको भुसालको विश्लेषण छ । सडकले भौतिक संरचना मात्रै बताउँछ तर बाटोले गन्तव्य र दिशा निर्देश गर्छ । हरेक चुनावमा उही सडकका कुरा दोहोरिने तर मुलुक कता जाँदैछ भन्ने स्पष्ट मार्गचित्र नहुने गरेको उनको दाबी छ । नयाँ आएका शक्तिहरू र पुराना दलहरू सबैले घोषणापत्रमा उही ‘ढाँट्ने’ शैली अपनाएको र सारमा सबै एउटै रहेको उनले आरोप लगाए ।

‘सडकले बाटो बताउँदैन, दिशा बताउँदैन र गन्तव्य पनि बताउँदैन । हामी सडक चिल्लो बनाउने कुरा गर्दैछौँ तर हामी स्वयं कता जाँदैछौँ भन्नेकुरा हराएको छ ।’

अवाञ्छित तर अपरिहार्य निर्वाचन

आसन्न निर्वाचनलाई भुसालले ‘अवाञ्छित’ र ‘अपरिहार्य’ दुवै संज्ञा दिएका छन् । यो जनताले चाहेर भन्दा पनि असाधारण भवितव्यका कारण आएको चुनाव भएको उनको बुझाइ छ । जेन—जी प्रदर्शन, भ्रष्टाचार र मुठ्ठीभर नेताहरूको नालायकीले उत्पन्न गरेको संकटलाई समाधान नगरी चुनावमा जानु विस्फोटक स्थिति निम्त्याउनु भएको उनले चेतावनी दिए ।

परनिर्भरताको अपमानजनक इतिहास

नेपालको वैदेशिक सहयोग र अनुदानमा बाँच्ने इतिहासलाई उनले ‘अपमानको आधुनिक इतिहास’ भनेका छन् । राजाको पालादेखि नै आएको अनुदानलाई उत्पादन वृद्धिमा लगाउन नसक्दा मुलुक परनिर्भर भएको उनको तर्क छ । भारत र चीन जस्ता छिमेकीहरूले आफ्नै बलमा विकास गर्दा नेपाल भने पश्चिमाहरूको उदारवादी र निजीकरणको ‘कुबाटो’ मा हिँडेर उद्योगहरू बेच्ने र बेरोजगार उत्पादन गर्ने ठाउँ बनेको उनको दाबी छ ।

उद्यमशीलता: कृषिलाई मेरुदण्ड बनाउने सङ्कल्प

मुलुकको अस्थिरता र द्वन्द्वको मुख्य कारण उद्यमको अभाव रहेको भुसालको ठम्याइ छ ।

‘जसले उद्यम गर्दैन, त्यो मुलुक बर्बादी र गृहयुद्धमा फसिरहन्छ ।’ उनले भने ।

युवा पलायन रोक्नका लागि कृषिलाई नै उद्यमको आधार बनाउनुपर्ने उनको प्रस्ताव छ । हरेक किसान परिवारको मासिक ४० देखि ५० हजार रुपैयाँ बचत सुनिश्चित नहुन्जेल समृद्धिको कुरा बेकार रहेको उनले बताए । कृषिलाई औद्योगीकरणसँग जोड्दै राष्ट्रिय पुँजीपतिको संरक्षण गर्ने नीति राज्यले लिनुपर्ने उनको जोड छ ।

भ्रष्टाचारविरुद्धको ‘घुस नखाने’ सङ्कल्प

राजनीतिक नेतृत्वमा हुनुपर्ने ‘राजनीतिक सङ्कल्प’ को अभावले सुशासन आउन नसकेको भुसालको भनाइ छ । उनले आफ्नो पार्टीलाई ‘घुस नखाने पार्टी’ को रूपमा चिनाउँदै यो केवल सस्तो नारा नभई एउटा गम्भीर सैद्धान्तिक र कार्यक्रमिक सङ्कल्प भएको स्पष्ट पारे । राज्यका सबै तहमा हुने भ्रष्टाचारको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने उनको माग छ ।

बहुध्रुवीय विश्व र नेपालको विदेश नीति

अन्तर्राष्ट्रिय परिस्थितिलाई क्यापिटलाइज गर्न नसक्नु अर्को ठुलो कमजोरी भएको उनले बताए । अबको विश्व एक ध्रुवीय नरही बहुध्रुवीय हुँदै गएको सन्दर्भमा बीआरआई, ब्रिक्स बैंक र एशियन इन्फ्रास्ट्रक्चर बैंक जस्ता निकायहरूसँग नेपालको आफ्नै सर्तमा साझेदारी गर्नुपर्ने उनको धारणा छ । विदेशीका ‘प्रेस्क्रिप्सन’ मानेर भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीति सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

नेता भुसालले मुलुकलाई ठगिने र दुःख पाउने क्रमबाट जोगाउनका लागि आफ्नो पार्टीले ल्याएका एजेन्डाहरूमा बहस हुनुपर्ने र जनताले सही बाटो रोज्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =