‘निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित मतदाता शिक्षा एवं निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय संघ, संस्था एवं कलाकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले त्यसतर्फ सञ्चार माध्यमहरूलाई सचेत गराएका हुन् ।

मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउने उम्मेदवारहरूलाई हतोत्साहित बनाई प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने भएकाले निर्वाचन अघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम गर्न नहुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई छ । उनले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरे ।

उनले भने ‘हालैका केही अभ्यासहरू, जसमा मतदान हुनुअघि नै मतदाताहरूको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ । त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । निर्वाचन आचार संहिता २०८२ ले प्रस्ताव गरेको मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्दछ । नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्याउने काम नगर्न आयोगको तर्फबाट विनम्र अनुरोध गर्दछु । यसका साथै प्रविधिको तीव्र विकाससँगै आटिफिसियल एजेन्सीको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन आयोग विशेष आग्रह गर्दछ । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएपनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =