दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विनासर्त अविलम्ब रिहा गर्न माग गरेको छ ।
पार्टीको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर यस्तो माग राखेको हो ।
पार्टीका कार्यसम्पादन समितिका सदस्य निरञ्जन थापाले प्रसाईँको पक्राउ संविधानसम्मत नभएको भन्दै बिनासर्त रिहा गर्न अनुरोध गरेको जानकारी दिए । उनकाअनुसार नेताहरू गृहमन्त्री अर्याललाई मौलिक हकको प्रयोग गरेकै आधारमा पक्राउ गरी नजरबन्दमा राख्नु उचित नहुने धारणा राखेका थिए ।
जवाफमा गृहमन्त्री अर्यालले प्रसाईँविरुद्ध प्रहरी अदालत गइसकेको उल्लेख गर्दै अदालतबाटै मुद्दाको टुङ्गो लाग्ने बताएको थापाले जानकारी दिए ।
उनले भने ‘गृहमन्त्रीज्यूलाई भेट्न हामी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एउटा प्रतिनिधिमण्डल हामी आएका थियौँ । दुर्गा प्रसाईँजीलाई नजरबन्दमा राख्ने जुन काम भएको छ त्यो नेपालको संविधानसम्मत छैन, मौलिक हकको प्रयोग गर्दाखेरि यसरी जेलमै बस्नुपर्ने कुरा उचित होइन भनेर भन्यौँ । यदि यस्तै हुन लाग्यो भने भोलि चुनावलाई समेत असर पर्ने हुँदा उहाँलाई तत्काल रिहाई गर्न गृहमन्त्रीज्यूसँग अनुरोध गरेका छौँ । उहाँले निर्वाचन आयोगको आग्रहअनुसार उहाँलाई पक्राउ गरिएको भन्दै अदालतबाटै टुंगोमा पुगिने जवाफ दिनुभयो ।’
निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईँलाई प्रहरीले सोमवार पक्राउ गरेको थियो । यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा गत माघ १९ गते प्रसाईँलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशन अनुरूप माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए ।
निर्वाचन आयोगका पत्रका आधारमा पक्राउ परेका प्रसाईँमाथि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।








