बौद्धमा राष्ट्रिय ल्होसार विशेष कार्यक्रम आयोजना हुँदै

काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले राष्ट्रिय ल्होसार पर्वको पावन अवसरमा यही २०८२ साल फागुन ५ गते मङ्गलवार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । बौद्ध क्षेत्रमा आयोजना हुने उक्त कार्यक्रममा परम पूज्य लोसाङ नामग्याल रिन्पोछेको प्रमुख आतिथ्य रहने जनाइएको छ ।

समितिका अनुसार कार्यक्रम बौद्ध गेट ओरालो टाउन प्लानिङस्थित फुटबल मैदानमा बिहान ८ बजेदेखि सुरु हुनेछ । कार्यक्रमअन्तर्गत बिहान ८ बजेदेखि ९ बजेसम्म साङ सेरगेम, धर्मपाल तथा स्थानीय देवी देउताको पूजा तथा सम्पूर्ण जगत प्राणीको कल्याणार्थ विशेष पूजा गरिनेछ ।

त्यसै गरी बिहान ९ बजेदेखि सम्पूर्ण विघ्न बाधा, रोग व्याधि, ग्रह शान्ति तथा अवरोध निवारणका लागि चार सय घ्याप्सी पूजा, छोग पूजा लगायतका धार्मिक अनुष्ठान सञ्चालन गरिने आयोजकले जनाएको छ ।

दिउँसो १ः३० बजेदेखि राष्ट्रिय ल्होसार शुभकामना आदान–प्रदानसहित औपचारिक कार्यक्रम हुनेछ भने दिउँसो ४ बजेदेखि ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

ल्होसार पर्वलाई सामुदायिक एकता, धार्मिक सहिष्णुता तथा सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा मनाइँदै आएको छ । आयोजक समितिले कार्यक्रममा उपस्थित भई पर्वलाई भव्य रूपमा सफल बनाउन सबैमा आह्वान गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =