पहिले बन्दुक बोकेर आएको थिएँ, अहिले विकासको टिकट लिएर आएको छु : प्रचण्ड

रुकुमपूर्व । हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगे, त्यहाँ हिउँको सेतो थुप्रोले उनलाई स्वागत गर्यो । २९ माघमा रुकुम पूर्व प्रवेश गरेका प्रचण्डले हिउँमा खेल्दै गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जाल तत्यो । यो हिउँ खेल्नका लागि गरिएको भ्रमण थिएन, यो आफु पहिलो पटक प्रधानमन्त्री हुँदा अगाडि सारेको मध्यपहाडी लोकमार्ग हुँदै क्रान्ति र शान्तिको आधार क्षेत्रमा एउटा नयाँ सपना बोकेर फर्किएको भावुक पल थियो ।
सात दिने मतदाता भेटघाट कार्यक्रमका लागि आएका प्रचण्डका यी चार दिन (८४ घण्टा) औपचारिकभन्दा अनौपचारिक तर भावनात्मक रुपमा गहिरो देखिन्छ । जनयुद्धका ऐतिहासिक स्थलहरूमा पुराना पदचाप स्मरण, सहिद परिवारसँगको भेट, घाइते योद्धाहरूको सम्मान र स्थानीयका गुनासा सुन्दै विकासका प्रतिबद्धता व्यक्त गर्नु उनको दैनिकी रह्यो । रुकुम पूर्वका मतदाता र कार्यकर्तामा प्रचण्डको उम्मेदवारीले नयाँ उत्साह जगाएको छ । गाउँका चुल्हो, हिउँका थुप्रा, तातोपानीका कुण्डमा गरिएका संवाद र सहिद गेटमै उभिएर क्रान्तिका दिनको स्मरण गर्दै गाएका गीतले चुनावी अभियानलाई जीवन्त बनाएको छ ।
पहिलो दिन हिउँदेखि भूमेमा न्यानो स्वागत
बागलुङ–रुकुम सिमाना पातीहाल्नामा नेता–कार्यकर्ताको उत्साहपूर्ण स्वागत छ । हिउँले सेताम्य डाँडामा प्रचण्डको पाइला टेकिन्छ । स्वागतपछि उनले हिउँमा केहीबेर रमाइलो गरे । सामाजिक सञ्जालमा हिउँ खेल्दै गरेको तस्बिर र भिडियो छिट्टै चर्चामा आए । त्यहाँबाट संयोजक प्रचण्ड भूमे १ लुकुम पुगे । मध्यपहाडी राजमार्गसँग जोडिएको यो बाक्लो बस्तीमा प्रचण्डको स्थानीयले खाम मगर संस्कृति अनुसार फेटा गुँथाएर भव्य स्वागत गरे । उनले एमालेका जिल्ला सदस्य ताराप्रसाद पुनलाई पार्टीमा भित्र्याए र लुकुमलाई नमूना गाउँ बनाउने घोषणा गरे । टेलिफोन समस्याको तत्काल समाधानका लागि पहल गर्न स्वकीय सचिवलाई निर्देशन दिँदै उनले भूमे गाउँपालिकाको खाबाङबगर पुगे । त्यहाँ कार्यकर्ता र स्थानीयको माया र आगो ताप्दै गफ गर्दै जनताको घरमा साँझको बास रमाइलो बन्यो ।
जनयुद्ध दिवसको स्मृति : लाबाङ–महत गाउँमा इतिहाससँग पुनर्मिलन
१ फागुन, ३०औं जनयुद्ध दिवस । प्रचण्ड लाबाङ पुगे । त्यो गाउँ जहाँ २०६१ मा पोलिटब्यूरो बैठक बसेर डा. बाबुराम भट्टराईलाई कारबाही गरिएको थियो । स्थानीयले भुटेको मकैसँगै विभिन्न स्थानीय परिकार खाजा र दूध खुवाए । पुराना घर र बैठक स्थल हेर्दै प्रचण्डले पहिले र अहिलेको परिवर्तनमा खुसी व्यक्त गरे । धेरै गर्न बाँकी रहेको त्यो काम अब गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसपछि महतमा उनले जनयुद्धको पहिलो युद्धबन्दी साटफेरको स्मृति झल्काउने संरचना अवलोकन गरे । महत गाउँलाई पृष्ठभूमि पारेर बनाइएको युद्ध स्मृति पार्कमा पुगेर छापामार आक्रमण र पहिलो युद्धबन्दी साटफेरको स्मृतिसँग जोडिएको संरचना अवलोकन गरे । डीएसपी ठूले राई पक्राउ र देव गुरुङसँगको साटफेर जनयुद्धको महत्त्वपूर्ण अध्यायको जीवन्त स्मरण एउटा कथा जस्तै गरी यथार्थमा झल्कियो ।
महत गाउँमा महतबासीले गाजाबाजासहित स्वागत गरे, समस्या सुनाए । खाबाङबगरमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा प्रचण्डले सहिद, बेपत्ता परिवार र घाइते योद्धाहरूलाई सम्मान गरे । साँझ चुनबाङको गैरिगाउँमा पैसेरु नाच र झाँकीसहित रातो अबिर लगाएर स्वागत भयो । जनयुद्ध दिवस भावनात्मक र राजनीतिक दुवै रूपमा स्मरणीय बन्यो ।
चुनबाङको शान्ति ढोका र तकसेराको सौन्दर्य
२ फागुन बिहान ७:४५ मा चुनबाङको भेरीडाँडामा प्रचण्डले युद्ध संग्रहालय र ऐतिहासिक बैठक स्थल अवलोकन गरे । त्यही बैठकले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरी शान्तिको ढोका खोलेको थियो । सो निर्णय १२ बुँदे सहमति हुँदै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटो बन्यो ।
बैठकस्थल, तयारी कक्ष, आफू र पत्नी सीता बसेको कोठा, छोरा प्रकाश र अन्य नेताहरू बसेका घर–कोठा अवलोकन गर्दै उनले इतिहाससँग साक्षात्कार गरे । निर्माणाधीन युद्ध संग्रहालयको संरचना पनि हेरे ।
गैरिगाउँको सहिद गेटमा पुग्दा जनवादी कलाकारसँगै संयोजक प्रचण्डले गाएको ‘सहिदहरू हाँसिरहेका छन्’ भन्ने गीतको बिम्ब सम्झिन्छ । स्थानीय अन्तरक्रियामा उनले रुकुमपूर्वले आफूलाई नयाँ ऊर्जा दिएको बताए । पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरे ।
साँझ पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुग्दा स्थानीयले ऐतिहासिक स्थानमा भव्य स्वागत गरे । पर्यटकीय क्षेत्र तकसेराको सडक पूर्वाधार, भाषा र संस्कृतिको संरक्षणका लागि प्रतिबद्धता जनाउँदै उनी त्यहाँ बास बसे ।
चौथो दिन: मर्निङ वाक, चुल्होको आगोदेखि मैकोटको समाजवाद सपना
३ फागुन बिहान तकसेरामा मर्निङ वाक गर्दै प्रचण्डले दलित समुदायको घरमा आगो तापे । दलित युवाले भने, “अब जातीय छुवाछूत हट्यो, प्रचण्डले गर्दा ।” बाछीगाउँ, बिर्गुङ, पदमी, ओम्खा, डिम्बुरगैरा तातोपानी, मयाङ र हुकामका हरेक बस्तीमा लालीगुराँसको माला, मकै–चिया, सामूहिक फोटो र हरेक बस्तीमा आफ्नै शैलीका स्वागतमा रमाउँदै उनले स्थानीयको समस्या सुने, मत मागे र विभिन्न पार्टी परित्याग गर्नेहरूलाई स्वागत गरे ।
उनले सिस्ने हिमालको दृश्यावलोकनसँगै तामाखानी–फलामखानीको सम्भावनाबारे स्थानीयसँग छलफल गरे । सानीभेरी किनारको डिम्बुरगैरा तातोपानीमा पलेटी कसेर स्थानीयसँगै ढिँडो र हिमाली चामलको भात खाँदै उनले भने, “यहाँको संस्कृति र जीवन साच्चिकै भिन्न छ । यहाँ सबै नेपाली आउनुहोस् ।”
साँझ मैकोट पुग्दा भव्य स्वागत भयो । प्रधानमन्त्री छँदा हेलिकप्टरबाट आएका प्रचण्ड यसपटक कठिन बाटो हिँडेर आइपुगेका थिए । मैकोटबासीलाई सम्बोधन गर्दै उनले भने, “क्रान्तिको किल्ला रुकुम पूर्व अब विकासको नयाँ मोडेल बन्नेछ । समुदायमा आधारित समाजवादको सुरुआत यहीँबाट हुन्छ ।” मगर, दलित, ठकुरीको सामूहिक बसोबास र संस्कृतिलाई समाजवादको पूर्वाभ्यास भन्दै उनले रुकुमेली जनतामा समाजवादको रगत रहेको बताए । “पहिले बन्दुक बोकेर आएको थिएँ, यसपटक विकास र समृद्धिका लागि टिकट बोकेर आएको छु ,” उनले भने । साँझको बास उनी मैकोटमै बसे ।
यी ८४ घण्टामा प्रचण्डले हिउँमा खेल्दै सुरु गरेको मतदाता भेटघाटको यात्रामा सहिद परिवारलाई सम्मान गरे, ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्दै तिनको विस्तार र विकास गर्ने प्रतिबद्धता जनाए, तातोपानीमा जनतासँगै खाना खाए, भूमे नाचे, दलित घरको चुल्होमा आगो ताप्दै गफगाफ गरे ।
प्रचण्डसँगको यात्रामा समानुपातिक उम्मेदवारहरू उपेन्द्रलाल कामी, सुनिता बुढा र नेताहरू पूर्णबहादुर घर्ती, गणेशमान पुन लगायतका नेताहरू छन् । चार दिनको यो यात्रा चुनावी अभियान मात्र बनेन, यो क्रान्तिको स्मृति बोकेको जिल्लामा फर्किएको भावनात्मक मिलन बन्न पुग्यो । वृद्ध, युवा र बालबालिका सबै खुसी भए, प्रचण्डसँगै नाचे, भव्य स्वागत गरे र मिठो मसिनो जे घरमा छ, त्यो खाना दिएर आफ्नै छोरालाई जस्तै आश्रय दिए ।
रुकुमपूर्वमा प्रचण्डका बाँकी तीन दिनको कार्यक्रम अझै छ । तर चार दिनको ८४ घण्टाले यो केवल मत माग्ने अभियान मात्र नभई, इतिहासको पुनर्स्मरण र विकासको वाचा जोडिएको राजनीतिक पुनर्संवाद बन्न पुगेको छ । क्रान्तिको स्मृति बोकेको रुकुमपूर्व अब प्रचण्डले भने जस्तै विकास र सामुदायिक समाजवादको प्रयोगशाला बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी नै छ ।








