कृत्रिम ग्यास अभावको खेलः बजारमा चर्को असुली, अनुगमन मौन

काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन नसक्दा डिपोहरूमा रित्तो सिलिन्डरको लामो लाइन देखिन थालेको छ । कतिपय उपभोक्ताले हप्तौँसम्म पनि ग्यास पाउन नसकेको गुनासो गरेका छन् ।
बजारमा देखिएको अभाव वास्तविकभन्दा बढी कृत्रिम रूपमा सिर्जना गरिएको आशंका गरिएको छ । उपभोक्ताहरूका अनुसार ग्यास अभावको बहाना बनाएर फरक कम्पनीका सिलिन्डर नसाट्ने, नयाँ सिलिन्डर किन्न दबाब दिने तथा मनपरी मूल्य असुल्ने प्रवृत्ति बढेको छ ।
यता, नेपाल आयल निगमले भने ग्यास आयात बढेको र आपूर्ति सहज भइसकेको दाबी गरेको छ । निगमका प्रबन्ध निर्देशक चण्डिका प्रसाद भट्टले बजारमा ग्यास अभाव जस्तो देखिए पनि सहजरुपमा आपूर्ति भइरहेको बताए । उनले उपभोक्ताको माग बढेकोले आपूर्तिमा केही समस्या देखिए पनि कालोबजारी भने नभएको बताए । उद्योगीहरू पनि आयातमा कमी नभएको बताउँदै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास स्टक गर्दा बजारमा अभावजस्तो देखिएको तर्क गर्छन् ।
तर, बजारको अवस्था भने निगम र उद्योगीहरूको दाबीभन्दा फरक देखिएको छ । कतिपय बिक्रेताले उपभोक्तासँग रहेको कम्पनीको ग्यास आफूसँग नभएको भन्दै अर्को कम्पनीको ग्यास मात्र उपलब्ध रहेको जानकारी दिने गरेका छन् । एउटामात्र सिलिन्डर भएका विद्यार्थी तथा न्यून आय भएका परिवारका लागि आफूले प्रयोग गर्दै आएको कम्पनी कुर्नुभन्दा उपलब्ध कम्पनीको सिलिन्डर लिनु बाध्यता बन्ने गरेको छ ।
उपभोक्ताको यही बाध्यतालाई कमाउने अवसरका रूपमा प्रयोग गर्दै केही विक्रेताले खाली सिलिन्डर न्यून मूल्यमा खरिद गरी ग्याससहितको नयाँ सिलिन्डर चर्को मूल्यमा बिक्री गर्ने गरेको आरोप छ । सामान्य अवस्थामा एक कम्पनीको सिलिन्डर अर्को कम्पनीसँग साट्ने अभ्यास भए पनि हाल कृत्रिम अभाव देखाएर अतिरिक्त शुल्क असुल्ने गरिएको गुनासो बढ्दो छ ।
बजारमा देखिएको बेथिति, चर्को मूल्य असुली र बिल नदिने प्रवृत्तिले उपभोक्ताको चुलोमै प्रत्यक्ष असर पारेको छ । प्रभावकारी अनुगमनको अभावमा व्यापारीले कृत्रिम अभावलाई कमाउने सिजन बनाउँदा सर्वसाधारण भने महँगो मूल्य तिर्न बाध्य भएका छन् ।








