विगतका कमजोरी सच्याउँदै नयाँ नेपाल निर्माण गर्छौंः संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका छन् ।

मंगलवार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उनले विगतमा राजनीतिक दलहरूबाट भएका कमी–कमजोरीको समीक्षा गर्दै अब ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका साथ अघि बढ्ने बताएका हुन् ।

उनले राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार गरे । विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटकहरू मिलेर बनेको नयाँ शक्तिले २०८४ को सट्टा २०८२ सालमै हुनसक्ने निर्वाचनका लागि आफूलाई तयार पारेको दाहालको भनाइ छ ।

उनले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राज्य निर्माणमा विगतका सरकारहरू उदार पुँजीवादकै वरिपरि अल्झिएको टिप्पणी गर्दै अब नेपाली विशेषताको समाजवादको बाटो तय गरिने स्पष्ट पारे ।

प्रतिवद्धता पत्रमा सुशासनलाई मुख्य प्राथमिकता दिँदै सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पती छानबिन गर्न ‘उच्चस्तरीय स्वतन्त्र सम्पत्ति छानबिन आयोग’ र भ्रष्टाचार नियन्त्रणका लागि ‘शक्तिशाली लोकपाल’ गठन गर्ने प्रश्ताव गरिएको छ ।

साथै प्रशासनलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाउँदै ५ वर्षभित्र २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने लक्ष्य लिइएको बताए ।

जेनजी आन्दोलनले उठाएका प्रश्नहरूलाई सम्बोधन गर्दै संविधान कार्यान्वयनको १० वर्ष पूरा भएको सन्दर्भमा यसको पुनरावलोकन र परिमार्जन गरिने बताए ।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार गरी राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मानलाई केन्द्रमा राख्ने पार्टीको मुख्य एजेण्डा रहेको उनको भनाइ छ ।

आर्थिक रूपान्तरणका लागि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र बहुआयामिक गरिबीलाई १० प्रतिशतमा झार्ने लक्ष्य राखिएको उहाँले बताए ।

प्रतिवर्ष १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र १० हजार मेगावाट थप विद्युत उत्पादन गरी अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउने संकल्प प्रतिवद्धता पत्रमा समेटिएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =