नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौं । नेपाल–भारतका सुरक्षा विज्ञहरूले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै विज्ञहरूले नेपालको आगामी निर्वाचन र यसले निम्त्याउने सामरिक कथ्यहरूको विश्लेषण गरेका हुन् ।

निर्वाचनले मात्रै स्थिरता नदिने तर्क गर्दै वक्ताहरूले अनुभवी राष्ट्रवाद, सुधारवादी युवा नेतृत्व, उदाउँदो नयाँ शक्ति र राजतन्त्र पुनस्र्थापनाको पक्षधरका बीचमा निर्वाचन भइरहेको बताए ।

युरोपका भू–परिवेष्ठित राष्ट्रहरूको उदाहरण दिँदै भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने उनीहरूको भनाइ छ । स्विट्जरल्याण्ड र अस्ट्रिया जस्ता देशहरू ‘भूगोलले मात्र ल्याण्डलक’ हुन् तर दक्षिण एशियामा भने देशहरू ‘राजनीति र सुरक्षा’ ले पनि ल्याण्डलक हुन पुगेका भारतीय नौसेनाका पूर्वनिर्देशक सञ्जय जसजीत सिंहले बताए ।

सुरक्षा सहयोग र रक्षा सहयोग बीचको भिन्नता बुझ्न जरुरी रहेको उनको भनाइ छ । जब एक देशको नागरिकले अर्कोको रक्षाका लागि रगत बगाउँछ, त्योभन्दा प्रगाढ सुरक्षा सम्बन्ध अर्को हुन नसक्ने उनको भनाइ छ ।

सिंहले बिमस्टेकको महत्वबारे चर्चा गर्दै नेपालको संलग्नताले हिन्द महासागरको भू–राजनीतिमा ठूलो अर्थ राख्ने बताए । दूरीलाई अब किलोमिटरमा मात्र नभई ‘समय’ मा नाप्नुपर्ने र कनेक्टिभिटीले त्यो समय घटाउँदै लगेको उनको धारणा छ ।

विज्ञहरूले खुला सीमानाका चुनौतीहरूबारे बोल्दै १ हजार किलोमिटरभन्दा लामो सीमानालाई स्क्यानर वा तारवारले मात्र सुरक्षित गर्न नसकिने बताए ।

उनीहरूले म्यानमारमा जारी द्वन्द्वका कारण बढेको लागूपदार्थ (नारकोटिक्स) को ओसारपसार र अफगानिस्तानबाट हुने अफिमको अवैध व्यापारले दक्षिण एशियाली क्षेत्रलाई जोखिममा पारेको उल्लेख गरेका छन् । सुरक्षा सहयोगलाई दुई देशबीचको सम्बन्धको ‘मेरुदण्ड’ को रूपमा परिभाषित गरेका छन् ।

वक्ताहरूले नेपालको आन्तरिक राजनीतिक उत्तारचढाव र निर्वाचनले मात्र सामरिक स्थिरता नदिने तर्क समेत गरेका छन् । युरोपका ९ वटा भू–परिवेष्ठित राष्ट्रहरू (जस्तै स्विट्जरल्याण्ड र अस्ट्रिया) को उदाहरण दिँदै उनीहरूले भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने बताए ।

युरोपेली देशहरू राजनीतिले नभई भूगोलले मात्र ‘ल्याण्डलक’ भएको तर दक्षिण एशियामा भने राजनीति र सुरक्षा चासोले देशहरूलाई बढी प्रभाव पारेको बताएका छन् । सुरक्षा सहयोगलाई प्रायः रक्षासँग मात्र जोडेर हेरिने भएपनि यो त्योभन्दा व्यापक रहेको विज्ञहरूको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =