निर्वाचन सुरक्षामा कुनै चुक नहोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई धाँधलीरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएकी छन् । मंगलबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि प्रकारको कमजोरी हुन नदिन सचेत गराएकी हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनहरूमा सुरक्षा निकायहरूबीच देखिएका समन्वयका त्रुटि र रिक्तताहरूलाई पाठका रूपमा लिँदै यसपटक त्यस्ता गल्ती दोहोरिन नहुनेमा जोड दिइन् । ‘विगतका अनुभव र आसन्न चुनावका विविध आयामहरूको सुक्ष्म विश्लेषण गरी सुरक्षा निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्नुहोस्,’ उनले भने, ‘निर्वाचन सुरक्षामा कत्ति पनि चुक नहुने गरी त्रुटिरहित ढंगले काम गर्नु आजको आवश्यकता हो ।’

सेनाको व्यावसायिकतामाथि विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पूर्ण विश्वास छ, नेपाली सेनाले आफूलाई प्राप्त जिम्मेवारी विगतमा झैं उत्कृष्ट ढंगले सम्पादन गर्नेछ ।’ उनले जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन र प्रहरी प्रशासनको कार्यलाई थप प्रभावकारी बनाउन सेनाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

राजनीतिक दलहरूले आफ्ना गतिविधिहरू निर्बाध रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु सुरक्षा निकायको मुख्य जिम्मेवारी भएको प्रधानमन्त्रीको भनाइ थियो । उनले भने, ‘सबै राजनीतिक दलका गतिविधिहरू बिना अवरोध सञ्चालन हुने वातावरण सिर्जना गर्न अन्य निकायहरूसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनाका साथ अघि बढ्नुहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =