आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ : विनोद चौधरी

नवलपरासी । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै बर्दघाट–७ जीमिरेभारमा आयोजित कांग्रेस क्षेत्रीय स्तरको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नवलपरासी (वसुप) क्षेत्र नं. १ का उम्मेदवार एवं निवर्तमान सांसद विनोद चौधरीले देश र आफ्नो निर्वाचन क्षेत्र समुन्नत भएको देख्ने सपना व्यक्त गरेका छन् ।
२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट उल्लेख्य मतान्तरले विजयी भएका चौधरीले नेपाली कांग्रेसको वर्तमान उद्देश्य गगन थापालाई प्रधानमन्त्री बनाउने रहेको बताए । ‘उहाँ भिजन भएका युवा नेता हुनुहुन्छ । उहाँको नेतृत्वमा आफूलाई चिनाएको देश र निर्वाचन क्षेत्र सम्पन्न भएको हेर्ने मेरो सपना छ । यो सपना कांग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्छ भन्ने मेरो पूर्ण विश्वास छ,’ उनले भने ।
चौधरीका अनुसार नवलपरासी क्षेत्र नं. १ मा औद्योगीकरणको आधार तयार भइसकेको छ र आगामी दिनमा यसले मूर्त रूप लिनेछ । उनले युवाहरूको वैदेशिक पलायन, रोजगारी संकट, गुणस्तरीय शिक्षाको अभाव र पूर्वाधार कमजोरी जस्ता समस्यालाई रूपान्तरणकारी कांग्रेसले समाधान गर्ने दाबी गरे ।
प्रदेश सांसद विश्वप्रेम पाठकले नेपालको राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्व भूमिका स्मरण गराउँदै जेनजी आन्दोलनका एजेन्डाहरूको समाधान पनि कांग्रेसले नै दिने दाबी गरे । ‘विशेष महाधिवेशनले एक चरणको निकास दिएको छ, पूर्ण निकास यो निर्वाचनपछि कांग्रेसको नेतृत्वबाट आउनेछ,’ उनले बताए ।
भेलामा बोल्दै नेपाली कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले वडा तहदेखि संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए । ‘रणनीतिक रूपमा तल्लो तहबाट काम गर्दै केन्द्रको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ उनले भने ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भु लाल श्रेष्ठले ‘कांग्रेस बदलियो, अब देश बदल्छ’ भन्ने संकल्प पूरा गर्न कार्यकर्ता र सर्वसाधारण जुट्नुपर्ने बताए । स्रोत–साधनको सीमितताबीच पनि विगत तीन वर्षमा क्षेत्रमा धेरै काम भएको उनले उल्लेख गरे ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले गगन थापालाई राष्ट्रिय नेतृत्वमा पुर्याउन यस क्षेत्रबाट विनोद चौधरीलाई निर्वाचित गराउनु अपरिहार्य रहेको बताए । उनले पार्टीभित्र असहमति नराखी एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे ।
भेलामा नेता, कार्यकर्ता तथा ३४ वडाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।








