काठमाडौं महानगरमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईतवारदेखि ७० वर्षमाथिका जेष्ठ नागरिकहरूको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ ।

आईतवार एक कार्यक्रमका बीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण तथा मेडिकल हिस्ट्री संकलन गरी आवश्यक आधारभुत स्वास्थ्य सेवा प्रदान गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

उनकाअनुसार स्वास्थ्य प्रवर्धन केन्द्रसम्म जानसक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गर्ने तथा जान नसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभुत स्वास्थ्य सेवा प्रदान गरिनेछ । यस कार्यक्रमले अगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउन सहयोग पुग्ने डंगोलको विश्वास छ ।

उनले भनिन्, ‘आजबाट हामीले ७० वर्ष र सोभन्दा माथि उमेर समूहका आमाबुबाहरूलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै प्रदान गर्ने कार्यक्रमको शुभारम्भ गरेका छौँ । ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो छ ? भन्ने कुराको सर्वेक्षण पनि सँगसँगै भइरहेको छ । हाम्रो अगामी वर्षको नीति तथा कार्यक्रम एभिडेन्सवेस होस् भन्ने उद्देश्यलाई पनि यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास लिएका छौँ । साथै उहाँहरूलाई अहिले तत्काल चाहिने आधारभुत स्वास्थ्य सेवाहरू जस्तै प्रेसर नाप्ने, उहाँहरूले सेवन गरिरहनुभएको औषधीका साथै उहाँहरूको मेडिकल हिस्ट्रीको डेटाहरू पनि राखिरहेका छौँ । धेरै जना अहिले पनि हाम्रो स्वास्थ्य प्रवर्धन केन्द्रमा जानसक्ने अवस्थामा पनि हुनुहुन्छ । त्यहाँ जानसक्ने अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा स्वास्थ्य प्रवर्धन केन्द्रमै दिने र जान नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको शुभारम्भ भइसकेको छ । यसले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुन महानगरको विश्वास छ ।’

उनले शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षणको काम काम समेत प्रारम्भ भएको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =