स्वच्छ निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी फागुन २१ मा हुने निर्वाचनमा आफूहरूको पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित रुकुम पूर्वका कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले प्रत्यक्षतर्फ आफूहरू पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

स्वच्छ, निष्पक्ष र धाँदलीरहित निर्वाचन भएमा तथा सेना, प्रहरी र सशस्त्र प्रहरीले निष्ठापूर्वक काम गरेमा प्रत्यक्षतर्फ आफूहरू पहिलो हुने उनको दाबी छ । उनले समानुपातिकतर्फ भने नयाँ भनिनेहरूको हावा चलेकोले केही कमजोर हुने बताए ।

प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्ने सम्भावना रहेको उनले बताए । यद्यपि निर्वाचन भाँड्न केही तत्त्वहरू अझै सक्रिय रहेको उनको भनाई छ । संयोजक दाहालले निर्वाचनबारे जनमानसमा अझै केही आशङ्का रहेको बताए । उनले देश निर्वाचनमय भइसकेकोले संसद् पुनः स्थापना हुने सम्भावना अब नरहेको दाबी गरे ।

अब हुने एउटै विकल्प निर्वाचन मात्रै भएको उनको भनाई छ । उनले निर्वाचनप्रति प्रश्न उठाउने दलहरू पनि निर्वाचनको तयारीमा जुटिसकेको बताए । सुरक्षा संयन्त्र, कर्मचारी र सरकार निर्वाचनका लागि तयारी अवस्थामा रहेको उनको भनाई छ । केही समूहले अझै निर्वाचन रोक्ने वा गलत ढङ्गले प्रभावित पार्ने प्रयास गरिरहेकोले सबैले त्यसलाई प्रतिवाद गर्नुपर्ने उनले बताए ।

उनले भने ‘मानिसहरू अझै पनि चुनावको बारेमा के होला, कसो होला भन्ने प्रश्न मनमा राखेकै छन् अझै पनि । कोही कोही अझै पनि संसद् पुनर्स्थापना हुन्छ कि भन्ने पनि छन् । तर हाम्रो पार्टी र मैले केही हुँदैन, अब हुने एउटै चिज हुन सम्भव छ, त्यो निर्वाचन हो । निर्वाचनले मात्रै जनताको पहलकदमीलाई जनताले अनुमोदन गरेको कुराले वैधानिकता पाउन सक्छ, अरू कुनै कुराले पाउन सक्दैन । हामीले सुरुदेखि नै निर्वाचन भनिरहेका छौँ र अहिले सिङ्गो देश निर्वाचनमय भइसकेको छ । निर्वाचनप्रति प्रश्न उठाउने पार्टीहरू पनि प्रश्न उठाई पनि रहेका छन्, निर्वाचनमा सहभागी हुने सबै तयारी पनि गरिराखेकै छन् । अहिले सिङ्गो देश हाम्रै लाइनमा अगाडी आइरहेको छ । हाम्रो सुरक्षा संयन्त्र, कर्मचारी र सरकार पनि निर्वाचनको लागी तम्तयार भएको देखिन्छ । तर एक थरी मान्छे कुनै तरिकाले यसलाई रोक्न सकिन्छ की अर्को केही गर्न सकिन्छ की भनेर पनि लागिरहेकै छन् । एकथरि मान्छे निर्वाचनलाई गलत ढङ्गले प्रभावित पारेर क्याप्चर गर्न सकिन्छ की भनेर पनि सोचेका होलान् । तर लाखौँ जनता सहभागी भइसकेपछि त्यो निर्वाचनले वैधानिकता प्राप्त गर्नेछ । हामीलाई के लागेको छ भने यो पटक यदि स्वच्छ निष्पक्ष, धाँदलीरहित र हाम्रा सुरक्षाकर्मीहरू सेना, पुलिस, सशस्त्र सबैले पनि निष्ठाको साथ निष्पक्ष रूपमा काम गर्ने हो भने मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिन, किनभने नयाँ भन्नेको अलिकति हावा चलेकै छ तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत गर्यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना छ । एक नम्बर भइयो भने यो देशलाई आउँदो पाँच वर्षमा साँच्चै हामीले देखेको सपनातिर डोर्याउन सम्भव छ ।’

संयोजक दाहालले रुकुम पूर्वको लागि चुनावी प्रतिविद्धतासमेत सार्वजनिक गरेका छन् । उनले भारतको सिमाना कोइलावासदेखि चीनको सीमा तिब्बतसम्म जोड्ने मार्ग, चुनवाङ–रुकुमकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने, रुकुमको फलाम खानी उत्खनन, सबै वडामा वर्षभर सवारी चल्ने गरी सडक स्तरोन्नति, जडीबुटी प्रशोधन केन्द्र स्थापना तथा खाम मगर क्षेत्रलाई स्वायत्त क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =